अबैध रुपमा भारतबाट आएका पाँचजना आइसोलेसनमा

|

बैतडी : भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको  छ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मंगलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जसमा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना रहेको छन्। यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिका ६/६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना रहेका छन्।

मंगलबार बिहानैदेखि भारतबाट आएका यात्रु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए। उनीहरूलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पुर्‍याउने ब्यवस्था गरिएको थियो।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित संक्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानी दिन उनले आग्रहसमेत गरेको छ। अरु स्थानीय तहमा पनि भारतबाट आउनेको संख्या धेरै आएकाले सेल्फ क्वारेनटाइन बस्न अनुरोधबाहेक केही गरेका छैनन्। जसले गर्दा शहर भन्दा गाउँ असुरक्षित बनेको स्वास्थ्यकर्मीले बताएका छन्।

बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरेको छ। यसैबीच गएको एक हप्ताको अवधिमा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्यांक संकलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए। 

यस्तै लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई संक्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागि परेका छन्। 

अबैध रुपमा भारतबाट आएका पाँचजना आइसोलेसनमा

भारतबाट आएका एक युवकसहित आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेका २ जनाको नमूना परीक्षणका लागि पठाइएको छ। भारतबाट आएका बैतडीको पुर्चौडीका एक युवक र दशरथचन्द नगरपालिकाकी ५८ वर्षीया बृद्धाको घाँटी र नाकको स्वाव (र्‍याल) परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो। 

चेकजाँच गर्दा युवकलाई  १००.८ डिग्री फरेनहाइट र बृद्धामा १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले जानकारी दिए। युवकलाई दशरथचन्द नगरपालिकाले स्थापना गरेको जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेसन र बृद्धालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको उनले  बताए।  

बृद्धालाई ५ दिनदेखि बिरामी भई अस्पताल आएपछि  चेकजाँच गर्दा ज्वरोसँगै, खोकी र श्वासप्रश्वासको समस्या देखिएकोले कोरोना भाइरसको जस्तै सम्भावित लक्षण  देखा परेकोले आइसोलेसनमा राखिएको  हो। यस्तै बृद्धाका घरपरिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

बृद्धा १० अगाडि कैलालीको सुख्खडबाट बैतडी आएकी बुझिएको छ। यस्तै आइसोलेसनमा रहेको युवक भने सीमानाका बन्द रहेका बेला अबैध रुपमा भारतबाट महाकाली नदीमा ट्युबमा तरेर नेपाल आएका हुन्। ती युवकसँगै ट्युबमा आएका अन्य ४ जनालाई पनि आइसोलेसनमा राखिएको छ। तर तिनीहररुलाई भने १०० डिग्री फरेनहाइट भन्दा कम ज्वरो रहेको अस्पतालले जनाएको छ। 

प्रयोगशाला पठाइएको नमूनाको रिपोर्टपछि मात्रै उनीहरूमा कोरोना भए नभएको थाहा हुने बताइएको छ।  

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार

भारतबाट नेपाल फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ। सुर्नया गाउँपालिकाले भारतबाट फर्किएका १३ जनालाई   क्यारेन्टाइनमा राखेको हो। ८ जनालाई राष्ट्रिय मावि फाटिगडामा, चन्द्रमणि आधारभुत विद्यालयमा ३ जना र बाशुदेव मावि लिस्कटामा २ जनालाई क्वारेन्टाइनमा राखिएको छ। यसका साथै भारतबाट आएका अन्य नागरिकलाई पनि क्वारेनटाइनमा राख्ने तयारी भएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए। 

यसका साथै भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई सेल्फ क्यारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ। घरपरिवारको अन्य परिवारभन्दा अलग्गै  बस्न गरिएको हो। सुर्नया गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा आइसोलेसन स्थापना  गर्ने जनाएको छ। भारतबाट आएका नागरिकको तथ्यांक संकलन अभियान पनि सुरु गरेको गाउँपालिका अध्यक्ष विष्टले बताए। 

यसैबीच पाटन नगरपालिका ७  मा रहेको उदयदेब माविमा १० शय्याको क्यारेन्टाइन निर्माण गरिएको छ। कोरोनाको  आशंका लागेका तत्कालका लागि उपचारका लागि क्वारेन्टाइन निर्माण गरिएको कार्यापालिका सदस्य बलदेवराम लुहारले जानकारी दिए।

पाटनमा यसअघि विभिन्न स्थानमा गरी ३४ बेडको आइसोलेसन केन्द्र पनि स्थापना गरिसकिएका छन्। यस्तै पाटन नगरपालिका ४ भुमेश्वरमा वडा कार्यालय, स्वास्थ्यचौकी र भुमेश्वर युवा क्लवले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै भारत तथा अन्य मुलुकबाट गाउँमा मानिस भित्रिएकाले तिनीहरूलाई अलग्गै क्वारेन्टाइनमा बस्न वडा अध्यक्ष दिपकसिंह विष्टले आग्रह गरे।

यस्तै पाटन नगरपालिका १० ले १० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ। ब्रह्म आधारभूत विद्यालय हातामा उक्त आइसोलेसन कक्ष स्थापना गरिएको वडा अध्यक्ष देबेन्द्र कुवरले बताए।

आइसोलेसन कक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने र कोरोनाको शंकास्पद व्यक्ति भेटिने बितिक्कै रेफर गर्ने उनले बताए। आइसोलेसन कक्षमा आउने व्यक्तिहरूलाई खाना, बास बस्न र सरसफाइको व्यवस्था मिलाइएको छ। उक्त कक्षामा भारत तथा अन्य जिल्लाबाट आएका व्यक्तिलाई राखिने वडाअध्यक्ष कुँवरले बताए। यस्तै महिला स्वास्थ्य स्वयंसेवीकामार्फत वडाभित्र बिदेशबाट आएका व्यक्तिको डाटा संकलनको काम भइरहेको छ।

शान्ति यज्ञ  सम्पन्न 

बैतडीको दोगडाकेदारमा रहेको प्रसिद्ध दोगडा धाममा बुधबार शान्ति यज्ञ सम्पन्न भएको छ। दोगडाधाम संरक्षण समितिको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा उक्त यज्ञ सम्पन्न भएको होे।

विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपाल तथा यस क्षेत्रमा नभित्रियोस् भन्ने कामनासहित शान्ति यज्ञको आयोजना गरिएको  समितिका सल्लाहकार दिनेश भट्टले जानकारी दिए। आजदेखि १४ गतेसम्म सञ्चालन हुने भनिएको भए पनि भीडभाडबाट संक्रमण बढ्न सक्ने भन्दै बुधबार एकै दिनमा यज्ञ समापन गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.