|

चितवन : घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारबाही गरिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरूमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ।

कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो।

बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारबाही गर्ने बैठकले निर्णय गरेको छ। उनले भने, 'कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ। त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारबाही गर्नेछ।'

अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो। बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।

सो अस्पतालमा हाल १० शय्‍याको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ। कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार शय्‍या थपसमेत गर्ने बैठकमा छलफल भएको थियो। कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो।

अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए।

भरतपुर अस्पतालमा रहेको २० शय्‍याको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिए।

बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ। कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ।

कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ।

सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ। कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ।

भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए। बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.