सुस्तायो स्थानीय सरकार

|
त्रिपुराकोटको हेल्थ डेस्कमा सुरक्षा उपकरणबिना जोखिम मोलेर बिरामी जाँच्‍दै स्वास्थकर्मी

डोल्पा : कोरोना भाइरसविरुद्धको पूर्व-सतर्कताका लागि आवश्यक सामग्रीको व्यवस्थापनबिनै हेल्थ डेस्क स्थापना गरिएको भन्दै डोल्पाका स्वास्थकर्मीले गुनासो गरेका छन्। जिल्लाभर गरेर करिब १२ स्थानमा स्थापना गरिएका हेल्थ डेस्कमा खटाइएका स्वास्थकर्मीले यस्तो गुनासो गरेका हुन्।

कहाँ कहाँ हेल्थ डेस्क?

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खदाङ्ग, त्रिपुराकोट, ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, सदरमुकाम दुनै, रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजार, मुड्केचुला गाउँपालिकामा पर्ने इल, जगदुल्ला गाउँपालिकामा पर्ने चौरीकोटलगायत स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ।

'हामीसँग न मास्क छ न त व्‍यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) नै,पर्याप्त औषधि पनि छैन नाम मात्रैका हेल्थ डेस्क खोलेर स्वास्थकर्मीलाई खटाएको छ' त्रिपुराकोट हेल्थ डेस्कमा खटिएका सिनियर अहेव शेरबहादुर कठायतले गुनासो गरे।

'विपतका बेला स्वास्थकर्मीको ठूलो भूमिका रहन्छ हामी बुझ्छौँ तर सामान्य सर्जिकल माक्सले भाइरस छेक्न सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि स्वास्थकर्मीलाई डेस्कमा पठाउनु बलिको बोका बनाउन खोजिएको हो' उनले थपे। उनीहरूले यसरी सामग्रीबिनै काम गर्न नसकिने बताएका छन्।

त्रिपुराकोटका विभिन्न स्थानमा राखिएका हेल्थ डेस्कमा यस्तै समस्या भएकाले तत्काल माक्स, व्‍यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई),ज्वरो नाप्ने थर्मोमीटर गनको व्यवस्थापन गर्न स्वास्थकर्मीले त्रिपुरासुन्दरी नगरपालिकालाई आग्रह गरेका छन्।

जिल्ला अस्पताल डोल्पामा पनि माक्स र व्‍यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) पर्याप्त नहुँदा स्वास्थकर्मीले ठूलो समस्या झेल्नुपरेको छ। पर्याप्त सामाग्रिहरु नहुँदा पहिलो जोखिम मोलेर हेल्थ डेस्कमा बसेर बिरामीको जाँच गरिरहेको उनिहरुको गुनासो छ।

जिल्ला अस्पतालमा केही थान मात्र पिजी-९५ मास्‍क र ब्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) लगाएतका भएपनि पर्याप्त नभएको डाक्टर सिजन रावलले बताए। स्वास्थ सेवा विभागले अत्याआवाश्यक सामग्री नपठाउँदा बिरामीको जाँच गर्न समस्या भएको जिल्ला अस्पतालले जनाएको छ।

२० बेडको क्वारेन्टाइन र ८ बेडको आइसोलसन वार्ड

सदरमुकाम दुनैमा २० बेडको क्वारेन्टाइन र ८ बेडको आइसोलेसन वार्ड तयार पारिएको छ।

कोरोना भाइरसविरुद्धको पूर्वतयारीस्वरूप नेपाली सेना,प्रहरीको सक्रियतामा जिल्ला अस्पतालमा चारवटा र रेडक्रस सोसाइटीको भवनमा चारवटा गरेर आठवटा आइसोलेसन वार्ड निर्माण गरिएको छ।

सरस्वती माध्यमिक विद्यालयको चारवटा कोठमा २० बेडको क्वारेन्टाइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी सापकोटाले जानकारी दिइन्।

जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयबाट एकदेखि दुईवटा बेड मागेर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गरिएको बताउँदै सबै गरेर पचास बेठको क्वारेन्टाइन निर्माण गर्ने योजना रहेको प्रशासनले जनाएको छ।

सेनाको ईश्वरी बक्स गण सुलिगाड र नन्दबक्स गणको सुरक्षा गुल्म दुनैले वेड ब्यवस्थापन,प्रत्येक वार्डमा बिद्युत जडान,बजारमा उपलब्ध प्लाष्टिकबाट ब्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई)र माक्स बनाउने लगाएतका काम गरेको छ।

बजारमा उपलब्ध प्लाष्टिक बाट २० देखि २५ थान व्‍यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) गुल्मभित्रै बनाउन लगाइएको ईश्वरी बक्स गुल्म सुलिगाडले जनाएको छ।

आजदेखि गुल्मका स्वास्थकर्मी र ठूलीभेरी नगरपालिकाले पठाउने स्वास्थकर्मीसहितको सुलिगाडमा नयाँ हेल्थ डेस्क स्थापना गर्ने गुल्मले जानकारी दिएको छ। यस डेस्कबाट उपल्लो डोल्पा जाने सर्वसाधारणको विशेष जाँच गरिने बताइएको  छ।

जिल्लाका सांसद र मन्त्री पनि जुट्दै

कोरोना भाइरसविरुद्धको पूर्व-सतर्कताका लागि जिल्लाका सांसद तथा मन्त्रीहरु पनि जुटेका छन्।

डोल्पाबाट संघीय सांसदको रुपमा निर्वाचित धनबहादुर बुढाले लकडाउनका कारण अलपत्र नागरिकहरु उद्धार र जिल्ला अस्पताल र जिल्लाका विभिन्न क्षेत्रमा राखिएका हेल्थ डेस्कमा आवाश्यक उपकरण जुटाउन संघिय सरकारलाई पहल गरिरहेको बताए।

त्यसैगरी, कर्णाली प्रदेश सरकारमा डोल्पाबाट निर्वाचित उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्द सिंह बुढा, डोल्पाबाटै कर्णाली प्रदेशमा निर्वाचित वीरबहादुर शाही, बदरमीकुमारी बोहोरा पनि डोल्पामा अभाव भएका स्वास्थ सामाग्री जुटाउन दौडधुप गरिरहेका छन्।

कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लामा रहेका विपत व्‍यवस्थापन समिति हाल्ने भनिएको पचास लाखबाट डोल्पामा औषधि, मास्क, ब्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई) लगाएतका सामग्रिहरु खरिद गरेर लैजान जिल्ला प्रशाससनसँग छलफल भइरहेको सासंद पद्मीकुमारी बोहोराले बताइन्।

आफूहरू कोरोनाविरुद्ध पूर्व-सतर्कता अपनाउन लागि परेकाले डोल्पामा स्वास्थसम्बन्धी सामग्रीको अभाव हुन नदिने सांसद वीरबहादुर शाहीले बताए।

डोल्पाका स्थानीय तहको तयारी सुस्त

कोरोना भाइरसको पूर्व-सतर्कताका लागि डोल्पाका स्थानीय तहको तयारी सुस्त देखिएको छ।

महामारीको रूपमा विश्वभर फैलिरहेको कोरोना भाइरस फैलन नदिन संघीय सरकारले लकडाउन घोषणा गर्दासमेत डोल्पाका स्थानीय तहले पूर्व-सतर्कताका लागि खासै तयारी नगरेको पाइएको छ।

अन्य जिल्लाका स्थानीय तहले आवाश्यक क्वारेन्टाइन आइसोलसन वार्ड तयार पार्नुका साथै स्वास्थ सामग्रीहरू आफैँ जुटाएता पनि डोल्पामा भने पूर्व-तयारी सुस्त देखिएको हो।

कुन कुन स्थानीय तहले के गरे?

त्रिपुरासुन्दरी नगरपालिकाले अहिलेसम्म एक बेडको क्वारेन्टाइन पनि निर्माण गरेको छैन। यदि सर्वसाधारणलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा कहाँ राख्ने भन्ने अन्योलता छ।

१० देखि २० बेडको क्वारेन्टाइन बनाउनका लागि तयारी गरिरहेको नगर प्रमुख ओमबहादुर बुढाले जानकारी दिए। त्यति मात्र नभई नगरपालिका भित्रका स्वास्थ चौकीहरुमा सामान्य मास्कसमेत अभाव छ।

जिल्ला बाहिरबाट भित्रने सर्वसाधारणको को ज्वरो नाप्ने थर्मोमीटर गन नहुँदा सामान्य थर्मोमीटर बाट सयौँको ज्वरो नाप्ने गरिएको स्वास्थकर्मीले गुनासो गरे। त्यसैगरी मास्क र ब्यक्तिगत सुरक्षा उपकरण (पि.पि.ई)नहुँदा आफुहरुनै कोरोनाको जोखिममा रहेको स्वास्थकर्मीले गुनासो गरे।

स्थानीय सरकारका रुपमा रहेका डोल्पाका आठवटै स्थानीय तहले कोरोना भाइरसलाई गम्भिर रुपमा नलिएको सरोकारवालाको भनाइ छ। त्यसैगरी, ठूलीभेरी नगरपालिकाको तर्फबाट दुनैमा पाँच बेडको क्वारेन्टाइन तयार पारिएको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले बताए।

नगरपालिकाको जुफाल, दुनै लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ। तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका कर्मचारीहरू कार्यालय नै बन्द गरेर घर हिँडेपछि कोरोना भाइरसविरुद्धको पूर्व-सतर्कता अन्योलमा परेको छ। गाउँपालिकाका केही ठाउँमा हेल्थ डेस्क स्थापना भए पनि प्रभावकारी नभएको स्थानीयले बताए।

जगदुल्ला र काइके गाउँपालिकाले पनि भरपर्दो तयारी नगरेको पाइएको छ। उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका,छार्काताङ्सोङ र डोल्पो बुद्ध गाउँपालिकाले कोरोनाको पुर्व सतर्कताका लागि कुनै तयारी गरेको पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.