|

अछाम : कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको आशंकामा अछाममा दुई जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। उनीहरू मध्ये एक ७२ वर्षीय पुरुष छन् भने एक पाँच वर्षका बालक रहेका छन्।

सुरुमा ज्वरो आएर अस्पताल आएका उनीहरू मध्ये जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका ४२ वर्षीय पुरुषलाई न्याय हेल्थ नेपाल बयलपाटा र पाँच वर्षका वच्चालाई जिल्ला अस्पताल मंगलसेनमा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको हो।

उपकरण अभावले ४२ वर्षीय एक पुरुषको स्वाब परीक्षणको प्रारम्भिक कार्य समेत गर्न नसकिएको उपचारमा संलग्न डाक्टर बिकास गौचनले बताए। जिल्ला अस्पतालमा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएका जिल्लाको ढकारी गाउँपालिकाका पाँच वर्षीय बालकलाई १ सय ४ डिग्री ज्वरो देखिएको उनको उपचारमा संलग्न डाक्टर अतुल भारद्वाजले बताए। उनका अनुसार आइसोलेसनमा राखिएका बालक पाँचदिन अघि आफ्ना आमाबुबासँगै भारतको हरियाणाबाट नेपाल आएका थिए।

कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम पुर्‍याइएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।

नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाइन स्थापना गरी अछामका ८ स्थानीय तहका १२ जना बालबालिका, २८ पुरुष र १२ जना महिला गरी ५० जनालाई जाँचसहित क्वारेन्टाइनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ। जसमा मंगलसेन नगरपालिकाका ११, चौरपाटी गाउँपालिकाका १०, कमलबजार नगरपालिकाका ८, ढकारी गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ७, साँफेबगर नगरपालिकाका ३, रामारोशन गाउँपालिकाका २ र पञ्चदेवल विनायक नगरपालिकाका १ जना रहेको मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले बताए।

यसैबीच मंगलसेनको क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। ५० जनाको नै जाँच गर्दा कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले सुरक्षित राखिएको जिल्ला अस्पतालका डाक्टर भारद्धाजले बताए।

जिल्लाका दशवटै स्थानीय तहले क्वारेन्टाइनको व्यवास्थापन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.