भारतबाट आएका ६४ जनाको उद्धार

|

बैतडी : बैतडीसहित सुदूरपश्‍चिम  प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका १३ जनाको नमुना संकलन परीक्षणका लागि काठमाडौं पठाइएको छ । 

कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमुना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको  हो। सेती प्रादेशिक अस्पतालमा संकलित ८ महाकाली अस्पतालबाट पठाइएको २, बैतडी जिल्ला अस्पतालको २ र डोटी जिल्ला अस्पतालबाट पठाएको १ को नमुना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्। 

नमुना परीक्षणको रिपोर्ट आउन २÷३ दिन लाग्छ उनले भनिन्, ‘रिपोर्ट आएपछि मात्रै सबै थाहा हुन्छ ।’ अहिले उनीहरुलाई आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।  कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवासमेत बन्द भएपछि सुदूरपश्चिम प्रदेशबाट नमुना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको हो । सुदूरपश्चिमबाट यसअघि पठाइएका १४ वटा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रयोगशालाले जनाएको छ । कोभिड १९ को परीक्षण गर्न सुदूरपश्चिममा प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता छ । प्रयोगशाला सुदूरपश्चिममै स्थापना गर्नुपर्ने मागसमेत यहाँका नागरिकले गरिरहेका छन्।  

भारतबाट आएका ६४ जनाको उद्धार 

‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एक मात्र नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरुको उद्धार गरिएको हो । दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी, दोगडाकेदार गाउँपालिका ४ को संयुक्त पहलमा उनीहरुलाई उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इन्चार्ज शंकरदत्त भट्टले जानकारी दिए ।

महाकाली नदीमा ट्युबबाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। ‘लक डाउन’पश्चात आएका नागरिक दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती र २२ जनाको बिहीवार उद्धार गरिएको हो। उनीहरुलाई जिप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.