|

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकलाई गाउँपालिकाले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाका अनुसार लुक्ला होटल संघ, फाक्दिङ होटल संघ र नाम्चे होटल संघको समन्वयमा निशुल्क खाना र बासको व्यवस्था गरेको हो। 

विश्वमा फैलिएको कोरोना भाइसरको महामारीका कारण नेपाल ‘लकडाउन’ का कारण लुक्ला फाग्दिङ र नाम्चेमा रोकिएका पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था गर्ने प्रवक्ता शेर्पाले जानकारी दिए।

सगरमाथा क्षेत्रको भ्रमणमा आएका बेला लकडाउन घोषणा भइ त्यस क्षेत्रमा रोकिएका पर्यटकलाई बिहीबार बिहानबाट लकडाउन नखुलुञ्जेलसम्म निःशुल्क खान र बासको व्यवस्था गरिएको वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए। उनका अनुसार होटल एसोसिएशन लुक्लासँगको समन्यवमा लुक्लामा रहेका १ सय १९ जना पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गरिएको हो।  यस्तै लुक्लाभन्दा माथि फाग्दिङमा करिब ४० जना रोकिएका छन् भने नाम्चे क्षेत्रमा रहेका पर्यटकको विवरण संकलन गर्ने काम भइरहेको प्रवक्त शेर्पाले बताए। 

पर्यटकीय सिजनमा यस क्षेत्र भ्रमण गर्ने संख्या हजारौ हुने भए पनि यस वर्ष कोरोनाका कारण न्यून मात्रमा आएका थिए। उनीहरू पनि लकडाउनको कारण खुम्बुको विभिन्न क्षेत्रमा रोकिएपछि खाद्यन्न अभाव हुने चिन्ता बढेको थियो।

निश्चित समयका लागि आएका पर्यटकको खर्च समेत अभाव भएकाले खाना, बास तथा वाइफाइको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ। महाकुलुङ गाउँपालिका १ र खुम्बुको सिमानामा पर्ने ठाङ्नामा मात्रै करिब ७ जना पर्यटक रहेको र उनीहरुका लागि खाद्यन्न अभाव हुने अवस्था भएको खबर प्राप्त भएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए। त्यहाँ खासै बस्ती छैन। त्यस क्षेत्रमा खाद्यन्न ढुुवानको एक मात्र बिकल्प हेलिकोप्टर नै हो। 

तर पनि यो बिषम परिस्थितिमा हेलिकोप्टर उडान तथा अवतरणको लागि गृहमन्त्रालयबाटै अनुमति लिनुपर्ने हुँदा समस्या भएको बताइएको छ। बुधबार नै खाद्यन्न अभाव हुन लागेको खबर प्राप्त भए पनि अनुमतिका कारण त्यहाँसम्म पुर्‍याउन नसकेको उनको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.