|

इलाम : कोरोना (कोभिड–१९) बाट बच्न इलामका १० वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्। स्थानीय सरकारले आफ्नो क्षेत्रका विभिन्न ठाउँमा क्‍वारेन्टाइन स्थापना र विदेशबाट आएकाको लगत संकलन कार्य तीव्र बनाएका छन्। स्थानीय सरकारले न्यूनतम ३ देखि १५ बेडसम्मको क्‍वारेन्टाइन स्थापना गरेका छन्। 

कुन स्थानीय तहमा कस्तो तयारी ? 

सूर्योदय  नगरपालिकामा १५ शैयाको क्‍वारेन्टाइन : भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणका लागि उच्च सतर्कताका साथ तयारी अगाडी बढाएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए। फागनु २२ गतेबाट नेपाल–भारत सीमाको पशुपतिनगरमा हेल्थ डेक्स सञ्‍चालन गरेको नगरले अहिले पशुपतीनगर स्वास्थ्य केन्द्रमा १५ शैयाको क्‍वारेन्टाइन स्थापना गरेको छ। 

नगरपालिकाले १४ वटै वडामा घर फर्किएकाहरुको लगत संकलन गरिरहेको छ। अहिले पशुपतीनगरमा क्‍वारेन्टाइनमा राखिएको २ जनामा संक्रमणको आशंकामा रेफर गर्ने तयारी भइरहेको वडा १० का अध्यक्ष पेमा उगेन लामाले जानकारी दिए। 

इलाम नगरपालिकामा ६ जना क्‍वारेन्टाइनमा : जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा क्‍वारेन्टाइन बनाएको छ। हाल सञ्‍चालनमा नरहेको सो अस्पतालमा रहेको क्‍वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखेर नियमित फलोअपमा राखिएको नगर प्रमुख महेश बस्नेतले बताए। कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका ४ का एक युवा इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्‍वारेन्टाइनमा छन्। 

देउमाई नगरपालिकामा १० बेडको क्‍वारेन्टाइन : देउमाईले वडा ४ को भानुभक्त माविमा १० वेडको क्‍वारेन्टाइन बनाउँदै छ। क्‍वारेन्टाइनमा आवश्यक परे बेड थप्दै जाने बताइएको छ।  नगरभित्र विदेशबाट आएका २० जनालाई होम क्‍वारेन्टाइनमा राखिएको छ।  

रोङमा उच्च सतर्कता : भारतसग १२ किलोमिटर खुला सिमाना रहेको रोङमा ६२ जनालाइ सुरक्षित बासको व्यवस्था गरिएको छ। 

माईजोगमाई गाउँपालिकामा २ ठाउँमा क्‍वारेन्टाइन : भारतसँग सीमा जोडिएको उत्तरी गाउँपालिका माईजोगमाईले २ स्थानमा १३ बेडको क्‍वारेन्टाइन स्थापना गरेको छ। गाउँपालिकाले  नयाँबजारको अमरकल्याण माविमा १० बेड र नेपाल ज्योति माविमा ३ बेडको क्‍वारेन्टाइन बनाइको अध्यक्ष जितबहादुर राईले जानकारी दिए। १४ किलोमिटर भारतसँग सिमा जोडिएको गाउँपालिकाको बाटो हुँदै मानिसहरु प्रवेश गरेका थिए। उनीहरु सबै क्‍वारेन्टाइनमा रहेका राईले बताए।

माङसेवुङको सिङफेरेमा क्‍वारेन्टाइन : झापाको दमकसँग नजिकै रहेको सिङफेरेको जनता आधारभूत विद्यालयमा माङसेवुङ गाउँपालिकाले १० बेडको क्‍वारेन्टाइन स्थापना गरेको छ। क्‍वारेन्टाइनमा आवश्यक खानेपानी, शौचालय र बाथरुमको व्यवस्थापन गरिएको छ।  

चुलाचुली गाउँपालिकामा २२ बेडको क्‍वारेन्टाइन : झापासँगै सीमा जोडिएको चुलाचुली गाउँपालिकाले २२ बेडको क्‍वारेन्टाइन स्थापना गर्ने तयारी थालेको छ। 

गाउँपालिकाले कमलको जनता माविमा ७ बेडको क्‍वारेन्टाइन स्थापना गरेको छ। 

माई नगरपालिका : क्‍वारेन्टाइन स्थापना गरिँदै

माईमा पनि ४ बेडको क्‍वारेन्टाइन स्थापना गरिएको छ। नगरले स्थानीय गरुवा बहुमुखी क्याम्पसमा क्‍वारेन्टाइन स्थापन गरे पनि हालसम्म कसैलाई पनि राख्नुपर्ने अवस्था नदेखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए। वैदेशिक रोजगारीबाट आएका शंकास्पद एक व्यक्तिलाई मेची अञ्चल अस्पताल पठाएको थियो। यद्यपि संक्रमण नदेखिएकाले सबैलाई होम क्‍वारेन्टाइनमा राखिएको कट्टेलले बताए  ।

सन्दकपुर गाउँपालिका : आजबाट क्‍वारेन्टाइन स्थापना गरिँदै

सन्दकपुर गाउँपालिकाले आजबाट क्‍वारेन्टाइन स्थापना गर्न सुरु गर्ने भएको छ। गाउँपालिका भित्र रहेको ६ वटा माध्यमिक विद्यालयमा ५० वटा बेड सहितको क्‍वारेन्टाइनका लागि सामग्री प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। 

जनप्रतिनिधिको एक महिनाको भत्ता कोरोना नियन्त्रणमा

विकट फाकफोकथुम गाउँपालिकाले जनप्रतिनिधिहरुको एक महिनाको तलब र भत्ता कोरोना नियन्त्रणमा खर्च गर्ने भएको छ। गाउँपालिकाले प्रत्येक वडामा २ हजारको दरले मास्क वितरण गरेको छ। गाउँपालिका केन्द्र नजिकैको सिंहदेवी माविमा २० शैयाको क्‍वारेन्टाइन बनाइँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.