सरकारको व्यवस्थापन र गति अझै चुस्त पार्न सुझाव

|

काठमाडौँः विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास छ। नेपालमा पनि कोरोना संक्रमणका बिरामीको संख्या चार पुगिसकेको छ। सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै गत मंंगलबार  एक साता लामो ‘लकडाउन’ घोषणा गरेको छ। 

लकडाउन गरेपछि सबै आ-आफ्नो घरमा केन्द्रित भएका छन्। जनजीवनमा अत्यावश्यक स्वास्थ्य संस्था, सरकारी केही कार्यालय, बैंक, खाद्यान्‍न लगायतका सबै सेवा बन्द छन्।

सर्वसाधारणलाई सरकारले घरभित्र सीमित राख्न खोजिरहेको छ। तर, केहीले सरकारी नियम लत्याइरहेका छन्। उनीहरुलाई प्रहरीले कारवाहीसमेत गरिरहेको छ। मानिसले कोरोना संक्रमणको गम्भीरतालाई अझै बुझेको देखिँदैन।

नेपालमा हालसम्म चार जनामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ। तीन जनाको उपचार जारी छ। एकजना उपचारपछि घर फर्किसकेका छन्।

मुख्यत: वैदेशिक क्षेत्रबाट आउनेमा कोरानाको संक्रमण देखिएको छ। त्यसैले सरकारले हवाईदेखि सवारीसाधन र पैदल यात्रामा समेत रोक लगाएको छ। लकडाउन पछि सबै क्षेत्र लगभग बन्द छन्। 

सबै क्षेत्र बन्द भएपछि सधैँजसो दौडधुपमै रहिरहने नेताहरु समेत घरमै बसिरहेका छन्। राष्ट्रियसभा, प्रतिनिधि सभाको सबै बैठकहरु स्थगन भइसकेको छ।

सरकारले लकडाउनको समय अझै बढ्न सक्ने औंल्याएरहेको छ। कोरोनाको संक्रमणमा कमी नआएसम्म लकडाउन हटाउनु पनि जायज हुँदैन। सधैँजस्तो राजनीतिक भेटघाट र दौडमा रहेका नेताहरु समेत लकडाउनपछि एकै ठाउँमा बसिरहेका छन्।

केहीले आफ्नो निर्वाचन क्षेत्रको जनतालाई फोन या अन्य माध्यमबाट नियालिरहेका छन्। सत्ताधारी दल नेकपाले आफ्ना कार्यकर्तालाई यसविरुद्धको लडाईंमा गम्भीरतापूर्वक लाग्न आह्वान गरिसकेको छ।

कोरोनाको त्रासको कारणले सरकारले लकडाउन गरेपछि उनीहरुको दिनचर्या र सरकारी तयारीबारे केही नेतृसँग थाहाखबरले गरेकोे कुराकानी जस्ताको तस्तैः

अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य, नेकपा

कोरोनको संक्रमण फैलनसक्ने त्रासले सरकारले ‘लकडाउन’ गरेको पाँच दिन भयो। सधै राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त रहने म पनि अहिले घरमै बसिरहेकी छु। पारिवारका सदस्यसँग घरमै सेल्फ क्वारेन्टाइममा बसेको छौँ। घरमा बसेर पत्रपत्रिका पढ्ने, विभिन्न किताबहरु पढने, लेखहरु लेख्ने, घर र पारिवारिक काम र सरफाईमा केन्द्रित भएकी छु। 

बागमती प्रदेशको इन्जार्ज भएको हुनाले प्रदेशभरिको जनताको अवस्था र सरकारी तयारीबारे प्रत्येक दिन जानकारी लिने गरेका छु। प्रदेशभित्र तीनै तहले गरेको सरकारी तयारीको बारेमा मैल पनि मेरो तर्फबाट सक्दो सहयोग गरिरहेको छु।

प्रदेशभित्र मैले जानकारी लिएसम्म अहिलेसम्म कतैपनि अप्रिय घटना भएको छैन। अहिलेसम्म अवस्था राम्रो नै छ। जनतालाई सरकारी नियम पालना गरेर घरमै बस्न अनुरोध समेत गरेको छु। 

शहरमा केही आतंक फैलिएको भएपनि गाउँघरमा कोरोनाको त्रास कमी भएकोे पाइएको छु। तर, महामारी आतंककोे रुपमा फैलिएको हुनाले हामी सबै सचेत हुन आवश्यक छ।

सरकारी नियम पालना गरेर आफ्नो स्वास्थ्मा ख्याल गर्न सक्यौ भने हामीले कोरोनालाई सहजै जित्न सक्छौँ। त्यसका लागि सबै नागरिक समेत हुन जरुरी छ। सरकारले कोरोना रोकथामको लागि सक्दो तयारी गरिरहेका छ। 

तर, यती तयारीको भरमा चुप बस्यो भने अर्को महामारी फैलन सक्छ। त्यसैले सरकारले कोरोना रोकथामको तयारीमा अझै व्यवस्थित र प्रभावकारी बनाउदै आफ्नो रफ्तार बढाउन आवश्यक छ।

मुख्यगरी सरकारले अहिले स्वास्थ्यकर्मीको बारेमा सोच्नुपर्छ। स्वास्थ्यकर्मीहरुले अहिले बिनासुरक्षा बिरामीको परिक्षणमा खटेका छन्। सरकारले यसलाई यही अवस्थामा रोक्न सकेन भने अर्को महामारी निम्त्याउन सक्छ।

पम्फा भूसाल, स्थायी कमिटी सदस्य, नेकपा

कोरोनाको संक्रमण फैलनसक्ने भन्दै सरकारले लकडाउन गरेका छ। जुन अत्यावश्यक थियो। विभिन्न कार्यक्रमको दौडधुप व्यस्त रहने म लकडाउनपछि घरमै बसिरहेको छु। घरमा बसेर विभिन्‍न पत्रपत्रिका अनलाइनहरु पढ्ने गरेको छु।

संसारभरी आक्रान्त बनेको कोरोना भाइरसको कारणले रोकथामको लागि सरकारले लकडाउन परेका छ। जनताले पनि सरकारी अभियानमा साथ दिन आवश्यक हुन्छ। 

जनताले साथ नदिएको खण्डमा कोरोना भाइरसकोे संक्रमणले अशान्त तुल्याउन सक्छ। त्यसैले जनताले सरकारी अभियानमा साथ दिन आवश्यक हुन्छ। सरकारी आफ्नो क्षेत्रबाट सक्दो प्रयत्न गरिरहेको छ।

महामारी एकैपटक आउने भएकाले भनेजस्तो तयारी गर्न सहजै सकिदैन। र, सरकारले गरेको तयारीलाई प्रभावकारी बनाउन हामी सबैले नियमको पालना गर्न सक्नुपर्छ। 

रामकुमारी झाँक्री, केन्द्रीय सदस्य, नेकपा

‘विपद् बाजा बजाएर आउदैन’ अहिले हामीलाई त्यस्तै भएको छ। त्यही कारणले म पनि बाहिरी कार्यक्रम स्थगन भएपछि घरमै बसेको छु। विभिन्न‍नकिताब पढ्ने, पत्रपत्रिका, अनलाइन टेलिभिजनबाट सुचना प्राप्त गर्ने र घरयासी कामका व्यस्त भएकी छु।

विपद् एकैचोटी आइपरेको हुनाले सरकारले सोचेजस्तो तयारी त गर्न सकेको छैन। तर, अहिलेको अवस्थामा सरकारी तयारीबाट असतुष्ट हुने ठाउँ छैन। बाहिरबाट फैलिएर आएकोे प्रकोप भएकाले लकडाउनको स्थितीसम्म आयो। 

सरकारले सही कदम चालेको छ। ठुुला देशले समेत थेग्न नसकेको प्रकोप हामीले सामाना गर्नु परेका अवस्था छ। हामीले यसलाई ख्लालख्याल गर्ने अवस्था छैन। तर, सरकारले अहिले समन्वयको भूमिकामा चाहिँ अलिक कञ्जुयाईँ गरेको देखिन्छ।

अहिलेसम्म कोरोनाको संक्रमण बाहिरबाट आएकोलाई मात्रै देखिएको छ। त्यसैल सरकारले केही महिनायता विदेशबाट आएका सबैको स्वास्थ्य परिक्षण गर्नु आवश्यक हुन्छ। भारतबाट पनि धेरै मान्छे नेपाल भित्रिएका छन्। तीनिहरुको अवस्था पहिल्याउन सक्नुपर्छ। 

संघीय सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले मुख्य जिम्मेवारी बहन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। मुख्यगरी बाहिरबाट आएका जनता गाउँ पुगिसकेका छन्। तीनिहरुलाई स्थानीय सरकारले पहिचान गर्न सक्नुपर्छ।

अहिले व्यापक रुपमा कालाबजारी मौलाएको छ। म आफैले ३० रुपैयाँकोे विस्कुटलाई ५० तिर्न परको अवस्था छ काठमाडौँमै अन्य क्षेत्रकोे अवस्था झन् कस्तो होलारु स्थाीय बजारमा दैनिक उपभोेग्य वस्तुको खुलेयाम कालाबजारी भइरहेको छ। सरकारले त्यसलाई रोक्नको लागि कदम चाल्न सक्नुपर्छ। 

अझै खाना बनाउने ग्यासमा विचौलिया हावी भइराखेका छन्। मैले सुनेअनुसार ग्यास आधा गरेर बेच्नु कुरा पनि बाहिर आएको छ। भारतले गरेको नाकाबन्दीकोे बेलामा त नसकीएको त्यो अवस्था अहिलेको यो महामारीका आधा ग्यास बेच्नु लाजमर्दो हुन्छ। 

डिला संगौला (पन्त), सचेतक, नेपाली कांग्रेस

कोरोनको संक्रमण रोकथामका लागि सरकारले लकडाउन लगाएपछि मुख्यगरी समाचार पढ्न तिरै व्यस्त भएको छु। जनताको अवस्था कस्तो छ? कसरी तयारी भइराखेको छ भनेर आफ्नो तल्लो तहसम्मका जनतासँग फोन सम्पर्कमा समेत जोडिरहेकै हुन्छु। कोरोना रोकथाको लागि लकडाउन अति आवश्यक थिया। जुन सरकारे पनि गरेको छ। 

लकडाउन गरेर जनतालाई घरभित्र बस भनेर मात्रै कोरोना रोकथाम हुदैन। सरकारले आफ्नो ठाउबाट सक्दो काम त गरेकै होला। तर, कोरोना रोकथामको लागि यस्तो तयारीले पुग्दैन। कोरोना परिक्षण गर्न सबै प्रदेशमा परिक्षण केन्द्र स्थापना  गरिनुपर्छ। यही एउटा टेकुको मात्रै भर परेर बसेर हुदैन। मुख्यगरी अहिले सरकारले चिकित्सकको स्वास्थयमा पनि ध्यान दिनुपर्ने देखिन्छ। 

चिकित्सकको आफ्नो ज्यानको बाजी लगाएर उपचार गर्न बाध्य छन्। ती सेवामा सहजता ल्याउन केही कदम सरकारले चाल्नुपर्छ। अहिलेको अवस्थामा सरकारले ‘हतियारबिना युद्ध’मा पठाएको जस्तो भएको छ। त्यो समस्या समाधान हुनुपर्छ। अर्को कुरा सरकारले लकडाउन गरेपछि जनताको अत्यावश्यक कुरामा खरिद सहजता ल्याउन सक्नुपर्छ। 

र, मुख्यगरी, हाम्रो देशका धेरै जनता श्रमीक छन्। उनीहरु श्रम बिना हातमुख जोड्न नसक्ने अवस्थाका छन्। लकडाउनपछि उनीहरुको श्रम ठप्प भएको छ। सरकारले तत्काले श्रमीकको हकमा प्याकेज खडा गर्न सक्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.