प्रत्येक पालिकामा क्वारेनटाइन अनिवार्य

|

विदुर आचार्य

सिन्धुपाल्चोकः विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणका बिरामी भएमा उपचारार्थ जिल्लामा ४ वटा आइसोलेसन वार्ड तयारी गरिएको छ। 

सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पताल, मेलम्ची र वाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  

जिल्ला समन्वय समितिको नयाँ भवन र मेलम्ची नगरपालिकाको नव निर्मित भवनलाई समेत आइसोलेसनको रूपमा प्रयोगमा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 

प्रत्येक पालिकामा एक क्वारेन्टाइन

चारैवटा केन्द्रमा गरी जम्मा १७ वेडको आइसोलेसन तयारी गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए। ‘१७ वेडको आईसोलेसन तयारी अवस्थामा छ,’ अधिकृत चापागाईले भने, ‘बाह्रै वटा  स्थानीय तहले कम्तीमा एक क्वारेन्टाईनको लागि तयारी गरेको छ।’ 

उनले सवै आइसोलेसन स्वास्थ्य केन्द्रमै सञ्चालन हुने हुँदा औषधि र स्वास्थ्यकर्मी उपलब्ध भएको समेत बताए। हालसम्म जिल्लामा कोरोना भाइरससँग लक्षण मिल्ने बिरामी नभेटिएको चापागाईंले प्रष्टाए। 

विदेशबाट फर्केकाको विवरण माग

जिल्ला विपद् व्यवस्थापन समितिको चुस्त समिति ‘कमाण्ड पोष्ट’ ले जिल्लाका १२ वटै स्थानीय तहबाट कोरोना भाईरसको प्रकोप सुरु भएपछि विदेशवाट फर्किएका नागरिकहरुको विवरण माग गरेको छ। 

बिहीबार बसेको कमाण्ड पोष्टको बैठकले विदेशवाट फर्केका व्‍यक्तिको अवस्था उल्लेख गर्ने फर्म भरी दुई दिनभित्र विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ। विदैशबाट फर्केका नागरिकमा कोरोनाको लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा खवर गर्नसमेत स्थानीय तहलाई आह्वान गरेको हो। 

क्यारेन्टाइनको अवस्थाबारे बुझ्‍ने

पोष्टको बैठकले स्थानीय तहमा निर्मित क्वारेन्टाईनको संख्या र अवस्थाबारे जानकारी उपलब्ध गराउन (आज) शुक्रवार सबै स्थानीय तहका कार्यकारी प्रमुखलाई वोलाईएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्तिमा सहजता वनाउन उद्योग वाणिज्य महासंघलाई जिम्मेवारी दिईएको र एम्वुलेन्समा विरामी र चालकबीचमा पीपीई सुरक्षा अपनाउने निर्णय गरिएको उनको भनाई छ। सवै स्थानीय तहका प्रमुख तथा विषयगत कार्यालयका प्रमुखलाई कार्यालयमा रहने व्यवस्था गर्ने निर्णय गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.