|

तिलोत्तमाः दैनिक ज्यालादारीको आडमा जीविकोपार्जन गर्ने ठूलो समुदाय यतिबेला देशव्यापी लकडाउनका कारण साँझ विहान ‘के खाऊँ’ को अवस्थामा छन्।दिनभर मजदुरी गरेर साँझ छाक टार्ने समुदायलाई लक्षित गरेर उनीहरूको भोक मेटाउन यतिबेला राहतको खाँचो देखिएको छ।

संघीय तथा प्रदेश सरकारले ठूला राहतका कार्यक्रम घोषणा गर्न नसके पनि केही स्थानीय सरकारहरूले आफैँ त्यस्ता राहतका कार्यक्रम सञ्चालन गरेका छन्। यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित भएका नगरभित्रका दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत सामग्री वितरण गर्न सुरु गरेको छ।

शुक्रबार विहानैदेखि मजदुरका घर-घरमा गई राहत वितरण गर्न सुरु गरिएको हो। लकडाउनका कारण दैनिक खान नपाउने नगरपालिकाका करिब २ हजार जना मजदुरलाई यस्तो राहत वितरण गर्ने छ। पहिलो चरणमा शुक्रबार साँझ बिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराइएको छ।

नगरपालिकाले टोल विकास संस्थाको सिफारिसमा उक्त राहत उपलब्ध गराइरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। नगरप्रमुख वासुदेव घिमिरेले बिहीबार नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका काण कुनै पनि नगरवासी भोकभोकै मर्नु नपर्ने बताउँदै राहत प्याकेजको घोषणा गरेका थिए। उक्त घोषणा लगत्तै नगर उपप्रमुख जागेश्वरीको नेतृत्वमा एक समितिको गठन गरेर राहत वितरणको काम अगाडि बढाइएको हो। 

शुक्रबार विहानैदेखि नगरप्रमुख घिमिरे र उपप्रमुख चौधरीले घरघरमा गई खाद्यन्न वितरण गरेका छन्। नगरपालिकाले मात्रै गरेर मात्रै नहुने भएकाले दैनिक ज्याला-मजदुरीमा काममा लगाउने व्यक्ति, ठेकदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिता निर्वाह गर्न नगरप्रमुख घिमिरेको आग्रह छ। 

महामारी व्यवस्थापनका लागि एक करोडको कोष 

नगरपालिकाले कोरोना महामारीको सम्भावित जोखिम व्यवस्थापनका लागि एक करोड रुपैयाँको कोष स्थापना गरेको छ। कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैयाँ र उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैयाँ योगदान गरेका छन्। त्यस्तै नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकले तीनदिन बराबरको तलब कोषमा जम्मा गर्नेछन् त।

हाल प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैयाँ मौजुदा रहेकोमा थप २० लाख रुपैयाँ जुटाएर १ करोड रुपैयाँ पुर्‍याउने नगरपालिकाको लक्ष्य छ। हालसम्म केही विद्यालय, समाजसेवी तथा संघसंस्थाले कोषमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन्।

नगरपालिकाले पनि एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ। कोषको रकमबाट कोरोना महामारी पूर्व तयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए।

प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उनले प्रष्टाए।  

यतिबेला कोरोना संक्रमणको जोखिम पूर्व तयारीमा जुटेको तिलोत्तमा १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ। जहाँ अहिले १९ जना बसेका छन्। त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ।

यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.