सिन्धुपाल्चोकमा एक महिना पुग्‍ने खाद्यान्‍न

|

विदुर आचार्य

सिन्धुपाल्चोक : मुलुक लकडाउनको पाँचौँ दिनमा आइपुग्दा सिन्धुपाल्चोकमा नियम उल्लंघन गर्नेको संख्या पनि बढेको प्रहरीले जनाएको छ। नियम उल्लंघन बजारका नागरिकबाट बढी भएको पाइएको छ।

‘गाउँमा हुलहुज्जत र अवतजावतका खास घटना छैनन्, सामान्य खेतीपाती गर्ने र परिवारमै बसेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले भने, ‘बजारमा आवतजावत गर्नेलाई रोक्नै गाह्रो।’ कतिपय नागरिक राति सवारीसाधनमा हिँड्ने गरेकाले उनीहरूलाई सम्झाएर छाडिएको उनको भनाइ छ।

नागरिकले कर्फ्युजस्तो बुझेर साँझ परेपछि बजार निस्कने गरेकोले प्रहरीले सचेत गराएको पनि डिएसपी काफ्लेले जानकारी दिए। लकडाउनको नियम नमान्‍ने १५० जना र ३६ बढी सवारीसाधनलाई कारबाही गरिएको उनको भनाइ छ। विदेशबाट फर्किएकाहरूलाई स्वास्थ्य जाँच गर्न गाउँका नागरिकले अभिप्रेरित गरी पठाउन थालेको खबर सुन्‍न थालिएको छ।

बलेफीले थप्यो क्वारेन्टाइन र आइसोलेसन

बलेफी गाउँपालिकाले कोरोना भाइरसका संक्रमण पाइएमा उपचारार्थ आइसोलेसन वार्ड थप गरेको छ। जिल्लामा १७ बेड क्षमतामा वृद्धि गरी २१ वार्ड क्षमताको आइसोलेसन बनाइएको छ।

बलेफी गाँउपालिकाले जलविरे स्वास्थ्य केन्द्रमा दुई बेड क्षमताको आइसोलेसन र आनन्द माविलाई क्वारेन्टाइन निर्माण गर्ने  तयारी गरेको गाउँपालिका अध्यक्ष केदार क्षत्रीले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्र जलविरे र सिन्धु सदावहार अस्पतालबाट सेवा प्रवाहको तयारी रहेको बलेफी-८ का वडाध्यक्ष चरीबहादुर तामाङ बताउँछन्। ‘पालिका र वडामा फोर्स टिम गठन गरिएको छ’, अध्यक्ष तामाङले भने,‘विदेशबाट फर्किएका र स्वास्थ्य समस्या भएका नागरिकलाई फोर्स टिमले निगरानी र मद्दत गर्नेछ।’

फ्रान्सबाट फर्किएकी नेपाली महिलामा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनीसँगै जहाजमा आएका दुईजना बलेफीका नागरिकलाई संक्रमण चेकजाँचमा पठाउन मद्दत गरेको समेत उनले जानकारी दिए। 

योसँगै जिल्लामा १०० भन्दा बढी क्षमताको क्वारेन्टाइन र २१ बेडको आइसोलेसन निर्माण भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। उनले बिरामी उपचारका लागि औषधि अभाव हुन नदिन दुईवटा वफर स्टक तयारी अवस्थामा राखिएको समेत जानकारी दिए।

एक महिनालाई खाद्यान्‍न पुग्छ : वाणिज्य संघ

दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरिरहेको संघका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए। हाल जिल्लामा एक महिनालाई पर्याप्त खाद्यान्‍न रहेको वाणिज्य संघले जनाएको छ।

 ‘दैनिक उपभोग्य वस्तु दाल, चामल, नुनलगायत सामग्री एक महिनालाई पुग्छ’, श्रेष्ठले थाहाखबरसँग भने, ‘दूध र तरकारी नियमित गराउन अलिक समस्या हुन्छ। तर, खाद्यान्‍न, तरकारी र ग्यासको आपूर्तिमा वाणिज्य संघले भूमिका निर्वाह गरिरहेको छ। त्यसैले समस्या टार्ने प्रयत्न गरिरहेका छौँ।’

प्रहरीको सक्रियता उस्तै

लकडाउनमा नियम नमान्‍नेमाथि प्रहरीले कारबाही गर्ने बताएको छ, पास दुरुपयोग गरी यात्रु बोक्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार प्रहरीले चेकिङका क्रममा काठमाडौंबाट मेलम्ची आउँदै गरेको पास लिएको गाडीले यात्रु बोकेको पाइएपछि प्रहरीले सक्रियता बढाएको डिएसपी काफ्ले बताउँछन्।

जिल्ला प्रशासन कार्यालयबाट मास्‍क खरिद गरी ल्याउन अनुमति लिएको रहेछ। तर, त्यसले अनुमतिबिना मान्छे ओसार्दै गरेको भेटियो, उनले भने।

गाडी पासको दुरुपयोग गरी ४ जना बालबालिकासहित १३ जना यात्रु पाँचपोखरी थाङपालधाप गाउँपालिका जान लागेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख तथा प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

यात्रु र चालकलाई कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा त्यसको असरबाट बच्ने उपायसम्बन्धी जानकारी गराएर छाडिएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.