|

काठमाडौं : सरकारले तत्काल नागरिकको घर-घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ। शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै आजैदेखि घर-घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

आजैदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयले आजैदेखि घरघरमा फोहोर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो।

 संघीय राजधानी काठमाडौंको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्नसमेत अनुरोध गरिएको छ।

उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुर्गन्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।

 साथै संक्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहोर बसिर्जनको व्‍यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ।

फोहोर संकलनमा खटिने संकलक र सवारीचालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनीसमेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन्।

घरबाहिर फोहोर फाल्‍नेलाई कारबाही

कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न पनि शहरवासीलाई मन्त्री मानन्धरले आग्रहसमेत गरेका छन्। घरबाहिर फोहोर फाल्नेलाई कारबाही गरिने तयारीसमेत गरिएको छ।

मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहोर बिसर्जन सुरु भएको बताइएको छ। मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको कामसमेत यथाशीघ्र थालनी गराउने प्रतिवद्धता जनाएका छन्।

अव्यवस्थित रुपमा फलिने फोहोरका कारण शहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्को यो घडीमा संयमता अपनाउन सबै पक्षलाइ मन्त्री मानन्धरले अनुरोधसमेत गरेका छन्। संकटको बेलामा सबै पक्ष गम्भीर बनेर छलफलका माध्यमबाट समाधानको खोजीमा लाग्नुपर्ने बेला आएको पनि मन्त्री मानन्धरको भनाइ छ।

शहरी क्षेत्रमा नागरिकको बाक्लो बसोबास लगायतका कारणले कोरोनाको संक्रमण फैलने सम्भावना उच्च रहेकाले आवश्यक क्वारेन्टाइन निर्माणका लागि विभिन्न विकल्पसहति मन्त्रालय तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.