राेगभन्दा पहिले भाेकले मर्ने डर भयो : वादी समुदाय

|

दैलेख : भिरालो जमिन कुचुक्क परेको बस्ती। ज्याला मजदुरीमा दिन बिताउन बाध्य उनीहरुको रात पानी पनि मुस्किलले छेक्ने छानोमुनि बित्छ। दैलेख नारायण नगरपालिका ६ गणेश चोक नजिकै बसोबास गर्दैआएका वादी समुदाय भोकमरीमा छटपाटाइरहेका छन्। 

अरुको काम नगरी उनीहरुलाई खान पुग्दैन। तर सरकारले कोरोना महामारी रोक्न देशैभरि लगाएको लकडाउनले उनीहरु पत्यक्ष मारमा परेका छन्। 

घरबाहिर निस्कने वातावरण छैन। उनीहरुसँग भित्र बसेर खाने अन्न पनि छैन। ‘अरुकोमा नगई खान पाउँदैनौं, यस्तोमा कसरी बाँच्ने होला?', उनले भनिन्।

यति मात्र होइन, सरकारले फेरि लकडाउनको समय थप्छ भन्‍ने त्रास उत्तिकै छ उनमा। यही हल्लाले उनी सुस्ताउँछिन् र भन्छिन्, ‘खान पाउनेहरुलाई त महिनौ दिन यस्तो भए पनि फरक पर्दैन होला, हामीले त के खाने?  

त्यसो त बस्तीका सबै आर्थिक निकै विपन्न पनि छैनन्। वैदेशिक रोजगारीबाट आएका केही त्यही पैसाले घर चलाइरहेका छन्। स्थानीय गाउँठाउँमै रोजगारी पाएका धेरैजसो हातमुख जार्नेमात्र सोचिरहेका छन्। उनीहरुलाई कोरोना भाइरसको महामारीले मरिएला भन्दा पनि खानै नपाएर मरिने चिन्ताले ज्यादा सताएको छ। 

रोग भन्दा भोकको डर  

ज्यालादारीमा अरुको काम गर्दै आएकी तारा वादीलाई रोगभन्दा पनि चार जनाको परिवार पाल्ने चिन्ता छ।  ‘पैसा हुनेलाई त बजार छ, हामीजस्तालाई पैसा पनि छैन,’ लकडाउनले बजार बन्द भएपछि उनको रोजगारी पनि खोसिएको छ।

भन्छिन्, ‘काम गरेर खान सक्ने अवस्था पनि छैन।’ बिहान–साँझ एक किलोको दरले चामल ल्याएर खाने वादी समुदायका अधिकांश काम नपाएर पिरोलिएका छन्। ‘साहुले उधारो पत्याउदैनन्, बन्द नहुदा काम गरेर पनि तिर्छन् भनेर उधारो दिन्थे, अहिले उधारो पत्याउन छाडे, रोगभन्दा पनि भोकले मरिने डर लागिरहेको छ।’

उमेरले ६० नाघेकी धनकला वादी पनि ताराकै जस्तो दुखेसो पोख्छिन्। बजार खुल्दा बजारमा आएका मालवाहक गडीबाट सामान झार्ने ज्यान गर्दा दैनिक ५० देखि २ सय रुपैयाँ कमाउने उनी बजार नै बन्द भएपछि छाक कसरी टार्ने भनी पिरोलिरहेकी छन्। 

यता नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले वादी समुदाय तथा ज्याला मजदुरीमा काम गरेर पेट पाल्ने परिवारले नगरपालिकाले विषेश राहतको व्यवस्था गर्ने आश्वासन दिए।

यसबारे धेरै नबोलेका उनले लकडाउनको समयमा घरबाहिर ननिस्केर परिवार समाज जिल्ला र देशका नागरिकलाई कोरोनाको संक्रमणबाट बच्न आग्रह भने गर्न छुटाएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.