|

बाँके  : क्‍वारेन्टाइनमा रहेका व्यक्तिको थ्रोड स्वाब लिन नेपालगन्ज आएको नेपाल बायुसेवा निगमको कलसाइन ९ एन एकेयु ट्विनअटर जहाज दुर्घटना भएपछि निगमकै अर्को जहाज आएर थ्रोड स्वाब लिएर गएको छ। दुर्घटनाग्रस्त जहाज फिर्ता हुन नसक्ने भएपछि निगमकै ९ एन एवियु ट्‍विनटर जहाजले थ्रोट स्वाब लिएर गएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए। 

उक्त जहाजले १० जनाको स्वाब लिएर गएको छ। भेरी अस्पतालले संकलन गरेको ९ र नेपालगन्ज मेडिकल कलेजको एक गरी १० जनाको स्वाब लगेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए। हालसम्म बाँकेबाट २३ जनाको स्वाब संकलन गरी पठाइएको छ। तीमध्ये सात जनामा कोरोना भाइरस नभएको ल्याब रिपोर्ट आएको छ। क्‍वारेन्टाइनमा रहेकाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाउने गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए। 

यसैबीच नेपालगन्जस्थित होटल सामथ्र्य इनमा रहेको क्‍वारेन्टाइनमा बस्नेको संख्या १४ पुगेको छ। स्थानीय तहको समन्वयमा कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्ति र उनीहरुका परिवारका सदस्यलाई नेपालगन्जस्थित क्‍वारेन्टाइनमा राखिने गरिएको छ। महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्‍वारेन्टाइनमा कुनै सुविधा नभएको गुनासो आएपछि बाहिरी देशबाट आएका व्यक्तिलाई होटलमा सारिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.