कमिशनको खेल भएको भन्दै आलोचना

|

काठमाडौं : कोरोना भाइरसको परीक्षणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज शनिबार मध्यान्ह ग्वान्जाओतर्फ उडेको छ। 

पर्यटनमन्त्री योगेश भट्टराई जमानी बसेपछि नेपाल वायु सेवा निगमको आरए ४१७१ नम्बरको उडानको जहाज चीनको ग्वान्जाओतर्फ गएको हो। यो जहाजले  स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामग्री चीनबाट मध्यराति काठमाडौं ल्याउने भएको हो। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले अर्डर गरेका विभिन्‍न १९ थरी स्वास्थ्य सामग्री यस जहाजले आइतबार सबेरै बिहान काठमाडौंमा उतारेपछि सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा वितरण गरिने छ। 

चीनबाट के के ल्याइँदैछ? 

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट विभिन्‍न तीन किसिमबाट सामान आउँदैछ। मन्त्रालयले चीन सरकारसँग विभिन्न १९ किसिमका सामान माग गरेको छ।

कोरोना भाइरसविरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्वास्थय मन्त्रालयले चीन सरकारसँग १९ थरी सामान मागेको थियो। चिनियाँ दूतावासले नै सहयोगका लागि आफूहरु तयार रहेको जनाउँदै आवश्यक सामान माग्न भनेपछि मन्त्रालयले सामान अर्डरको पत्र बेइजिङमा पठाएको थियो। 

स्वास्थ्य मन्त्रालयले माग गरेका स्वास्थ्य सामग्रीहरूमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन्। 

त्यसैगरी, मोनिटर– २,००० थान, एबिजी मेसिन– २० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेका छन्। 

त्यसैगरी १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामग्रीसमेत माग गरेको थियो। 

कम्पनीका सामान रोकिए

यसैबीच चीनबाट ल्याउँदै गरिएको केही सामान तिब्बतमै रोकिएको समाचार आएको छ। कोरोना भाइरस (कोभिड–१९) परीक्षण र उपचारका स्वास्थ्य सामग्री गुणस्तरीय नभएको भन्दै तिब्बत सरकारले रोकिदिएको हो। 

एक निजी कम्पनीले दिने भनिएका ती स्वास्थ्य सामग्रीको गुणस्तरमा आशंका भएपछि  ती सामग्री चीन सरकारले ल्हासामै रोकेको हो।

बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई दुई हजार टेस्ट किट सहयोग गरेको थियो। उक्त टेस्ट किट बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको थियो।

तर ती सामानको गुणस्तरमा प्रश्न उठेपछि ल्हासामै रोकिएका हुन्। ती सामान शनिबारै तातोपानी नाका हुँदै काठमाडौं आइपुग्ने बताइएकको थियो।  

म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोका लागि काठमाडौंमा सक्रिय इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीको पहलमा ती टेस्ट किट नेपाल ल्याइँदैथियो। यी टेस्ट किटबाट दुई हजारजनाकै कोरोना परीक्षण गर्न सकिने बताइएको थियो। 

नेपालमा किट सकिँदै गएकाले तत्काल सामग्री चाहिने भन्दै ती सामग्री ल्याउन लागिएको थियो। तर चीन सरकाले अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा ती किट समावेश छैनन्। त्यहीकारण तिब्बत सरकारले ती सामग्री रोकेको हो। 

ल्हासास्थित नेपाली महावाणिज्य दूतवासाका कन्सुलर जिम्सन रुम्दाली राईले तिब्बतमा रोकिएका टेस्टिङ किट्सहरु चीनको स्वास्थ्य विभागको मापदण्ड अनुसार निर्यात सूचीमा नभएका कारण रोकिएका हुन्। 

३० हजार डलर मूल्य बराबरका भनिएका ती कोरोना परीक्षण किट चिनियाँ व्यापारिक कम्पनी म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीमा उत्पादित ती सामान नेपाली दूतावासमार्फत हस्तान्तरण गरेको थियो। 

सरकारले बुधबार मात्रै अत्यावश्क सहयोग सामग्री ल्याउन चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने निर्णय लिएको थियो। 

अलिबाबाले के दिने? 

चीन सरकारले पनि नेपालका लागि विशेष सहयोग पठाउने जनाइसकेको छ। अर्कातिर कोरोना भाइरससँग लडिरहेका देशलाई चिनियाँ खर्बपति ज्याक मा को अलिबाबा फाउन्डेसनले पनि सामान पठाउने भएको थियो। 

ज्याक माले पठाउने मेडिकल सामग्री मंगलबार काठमाडौं आइपुग्ने भएका छन्। अलिबाबा फाउन्डेसनले दिने सामान चिनियाँ जहाजबाट काठमाडौं ल्याउने बताइएको छ। 

ज्याक माले नेपाललाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामग्री सहयोग गर्ने भएका छन्। अलिबाबा फाउन्डेसनले दिएका सामान चिनियाँ जहाजले नै गत बुधबार पाकिस्तान लगेको थियो। 

उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई स्वास्थ्य सामग्री दिएका छन्।  उनले दिएका एन ९५ मास्कसहितका मेडिकल सामग्री बोकेको चार्टर्ड जहाज बुधबार पाकिस्तान पुगेको छ। 

एसियाका सबैभन्दा धनी माले ‘एउटै विश्व एउटै लडाईं’ नारासहित सहयोग गरिरहेका छन्। उनले यही शनिवार कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनका छिमेकी एसियाली मुलुकलाई ठूलो मात्रामा सहयोगको घोषणा गरेका थिए। 

चिनियाँ सञ्चारमाध्यमका अनुसार ज्याकमाले चीनका छिमेकी राष्ट्रका लागि १० लाख ८ हजार मास्क, २ लाख १० हजार कोरोना परीक्षण किट, ३६ हजार प्रोटेक्टिभ पोशाक, भेन्टिलेटर र थर्मोमिटर दिने बताएका थिए।  

तर ज्याक माको कम्पनीले युरोपेली मुलुकलाई गरेको सहयोग सामग्रीमा प्रश्न उठाइएको छ। स्पेन, सर्बियासहितका देशलाई दिइएको कोरोना परीक्षण किटले सही नतिजा ननिकालेको भन्दै आलोचना भइरहेको छ।

मध्यराति जहाज आउँदै 

अलिबाबाले दिएका सामान मंगलबार काठमाडौं आइपुग्दैछन्। गोन्जाओबाट नेपाल वायुसेवा निगमको जहाज आइतवार सबेरै बिहान १ बजे काठमाडौंमा अवतरण गर्दैछ। 

एनसएसीको जहाजले ल्याउने ती सामान आइतवारै सातै प्रदेशमा लगिने  तयारी छ। ‘चीनबाट आउने सामान तत्कालै सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा पुर्‍याउँछौं’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘एक अधिकारीले भने।

किन विवाद?

शनिबार चीनतर्फ गएको एनएसीको जहाजले नेपालस्थित व्यापारीहरुले नै सरकारलाई बेच्ने सामान लिन गएको भन्दै विरोध भइरहेको छ। व्यापारिक कम्पनीहरुको सामान ओसार्न राष्ट्रिय ध्वजावहाक प्रयोग गरेर राज्यकोषकै पैसा खर्च गरिएको आरोप लागिरहेको छ। 

मुटुरोग विशेषज्ञसमेत रहेका एकजना अभियन्ता डा. रामेश कोइरालले चीनबाट ल्याउन लागिएका १९ थरी सामानका लागि नेपाल वायुसेवा निगमको जहाजलाई तीन पटक उडाउनै नपर्ने तर्क गरेका छन्। 

स्वास्थ्य मन्त्रालयले ल्याउने सामानहरुको सूचीको विवरण सार्वजनिक भएपछि कोइरालले त्यसमै प्रश्न उठाएका छन्। 

‘यदि यी सामान मात्रै स्वास्थ्य मन्त्रालयले किनेको हो भने सबै सामानको प्याकिङसहितको बजन पाँच टन हुन्न। अनि अझ तीन खेपमा ल्याउने रे’, उनले प्रश्न उठाएका छन्, ‘भूकम्पका बेला राहत सामग्री भन्दै सिटी स्क्यान कि के बिनाभन्सार छिरेको थियो रे!, यसपालि तीस टनमा के के पो छिर्ने भए! जे होस् जानेका छन् व्यापारीले!’

नेपाल वायुसेवा निगमको जहाजले ल्याउने करिब ८० टन सामानमा करिब ३० टन पनि सरकारी नरहेको दाबी एकपक्षले गरेका छन्। ५० टन सामान व्यापारीकै ल्याउन लागेको भन्दै आलोचना भएको हो। 

तर सरकारको निर्णय सही भन्दै बचाउमा उत्रिएका छन् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल। चीनबाट ल्याउन लागिएको स्वास्थ्य सामग्री महंगो भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ता र व्यपारीको टिप्पणी गर्नेलाई पोखरेलले उही दरमा ल्याएर देखाउन चुनौती दिएका छन्। 

‘सरकारले चीनबाट ल्याउन लागेको सामान महंगो भो भनेर प्रचार गर्नेहरुले तिनै सामान उक्त दररेटमै ल्याएर दिनु होस्, खाँचो छँदैछ,’ उनले भनेका छन्। 

एन–९५ मास्कमा प्रश्‍न

सरकारले चीनबाट ल्याउन लागेको भनिएको सामानमध्ये एन–९५ मास्कामा प्रश्न उठाइएको छ। एन ९५ मास्क नेपाली बजारमै  ३ सय रुपैयाँ खुद्रा मूल्यमा बेच्दा सरकारले कारवाही गरेको स्मरण गराउँदै केहीले प्रश्न उठाएका छन्। 

सरकारले भने चीनबाट ७ डलर (८५० रुपैयाँ) खरिद गर्न लागेको भन्दै आलोचना भएको हो। सरकारले चीनबाट ८० हजार थान यस्ता मास्क ल्याउन लागेको छ। 

स्वास्थ्य मन्त्रालय के भन्छ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक र वितरकसँग सामूहिक÷सार्वजनिक संवाद गरी ल्याउन लागेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक र वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक पटक बोलपत्र आह्वान गर्दा कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादकरवितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो विधिबाट ल्याउन लागिएको बताएका छन्। 

सामग्री ल्याउनका शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन गएको छ। राति १ बजे जहाजले सामग्री नेपाल ल्याउने छ । देवकोटाले सरकार कोभिट–१९को रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत काममा मन्त्रालय लगातार क्रयाशील रहेको बताएका छन्। 

चीनबाट स्वास्थ्य सामग्री ल्याउने विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक र नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा उनले आपत्ति जनाएका छन्। 

‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरीद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटस पोष्ट भइरहेको परिप्रेक्षमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुन्छ’, उनले भनेका छन्, ‘यस्ता कामले समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्री मात्र प्रचारप्रसार गर्न अनुरोध छ।’

यसअघि स्वास्थय मन्त्रालयले केही सञ्चारमाध्मयले सामग्री खरिदमा भ्रष्टाचार भन्दै दुष्प्रचार गरेको गुनासोसहित खण्डन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.