|

डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना चिकित्सकले काम छोडेर गएका छन्। पारिवारिक कारण देखाउँदै उनीहरूले काम छाडेका हुन्। दुवै जना चिकित्सकले पारिवारिक समस्या देखाएर काम छोडेका डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

काठमाडौंबाट आएका दुवै जना करारमा काम गर्न यहाँ आएका थिए। उनीहरू पछिल्लो समयमा कोरोना महामारीको प्रकोप  फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको अस्पताल स्रोतले जनाएको छ।

'उहाँहरू अस्पतालबाट जानुभएको एक साता बढी भैसकेको छ। पारिवारिक कारणले गर्दा उहाँहरू जानुभएको हो।' निमित्त मेसु विष्टले थाहाखबरसँग भने, 'लकडाउनका कारण रोकिनु भएको छ। डाक्टरसा'पहरू लकडाउन खुलेपछि आउनुहुन्छ होला।' 

उनीहरूले पारिवारिक समस्या देखाए पनि कोभिड १९ भाइरसको महामारीमा जोखिम हुने भएकोले पारिवारका सदस्यको दबाबमा जागिर छोडेर गएको हुनसक्ने स्रोतको दाबी छ। केही साताअघि मात्रै यहाँ काम गर्ने इच्छा जनाएर आएका दुईजना चिकित्सकले एकाएक काम छोडेर जानुका पछाडि कोरोना महामारीको डर नै रहेको अाशंका गरिएको छ।

डडेल्धुरा अस्पतालमा कोरोनाको उपचारमा खटिने चिकित्सकका लागि आवश्यकत सामग्रीहरूको अभाव छ। आवश्यक सामग्री नहुँदा ज्यान नै जोखिममा राखेर काम गर्नु परेको अस्पतालमा कार्यरत चिकित्सकहरूको भनाइ छ। आवश्यक सामग्रीहरू पूर्ति गर्नका लागि पहल भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.