|

डोल्पा : डोल्पा भित्रिएका पुरुष ५८ र महिला २९ गरेर कुल ८७ जना सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोनाको संक्रमण हुन सक्ने भन्दै सवैलाई क्वारेन्टाइनमा राखिएको हो। क्वारेन्टाइनमा राखिने मध्ये अधिकांश शनिबार भित्रिएका सर्वसाधारण रहेकाछन्।

शनिबार मात्रै जिल्ला पुगेका त्रिपुरासुन्दरी नगरपालिकाका दुई जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। त्यसैगरी ठुलिभेरी नगरपालिकाअन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको छ। जसमा २५ जना पुरुष र ८ जना महिला रहेका छन्। सोही नगरपालिका वडा नं ५ माँझफालस्थित स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा १६ जना राखिएको छ। जसमा पुरुष १३ र महिला ३ जना रहेका छन्।

नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभूत विद्यालय डाँगीवाडामा बनाइएको क्वारेन्टाइनमा पुरुष ७ र महिला ३ गरेर १० जना राखिएको छ। ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक विद्यालय जुफालमा बनाइएको क्वारेन्टाइनमा पुरुष ७ र महिला ६ गरेर १३ जना राखिएको छ।

डोल्पो बुद्ध गाउँपालिकाका महिला ९ र पुरुष ४ जना बाटोमा जाँदै गरेकाले उनीहरूलाई राख्न क्वारेन्टाइन तयारी अवस्थामा भएकाले गाउँ पुग्ने बित्तिकै राखिने गाउँपालिकाले जानकारी दिएको छ।

मुड्केचुला र जगदुल्ला गाउँपालिकामा क्वारेन्टाइन तयारी अवस्थामा भएको खबर आए पनि फोन सम्पर्क हुन नसक्दा कति जना राखियो भन्ने जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए। क्वारेन्टाइनका लागि जसोतसो आवश्यक सामग्रीको जोहो गरेर व्यवस्थापन गरिएको रञ्जितकारले बताए।

५ सय ३९ परिवारसँगै

डोल्पामा लकडाउन यता मात्रै नेपालगञ्ज, काठमाडौं, पोखरा, सुर्खेतलगायतका शहरबाट ६ सय २६ जना सर्वसाधारण भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा प्रवेश गर्ने नाकाको रुपमा रहेको त्रिवेणी बजार फोन नलाग्ने भएकाले पाँच दिनमा कति सर्वसाधारण छिरे भन्ने प्रहरीको रेर्कडमा छैन।

फोन नलाग्ने भएकाले संख्या भन्न नसकिने प्रहरीले जनाएको छ। शनिबार भित्रिएका ८७ जनाबाहेक बाँकी ५३९ जना परिवारसँगै बसेको पाइएको छ। यस अघि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था नगर्दा शुक्रबारसम्म भित्रिएका त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, काइके, शे-फोक्सुण्डो,डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकाले एक जनालाई पनि क्वारेन्टाइनमा राखिएको छैन।

सुरक्षित  उपकारणबिना नै नाकामा खोलिएका हेल्थ डेस्कमा थर्मोमिटरले सामान्य जाँच गरेर घर पठाइएको स्वास्थ्यकर्मीले बताए। कोरोनाबिरुद्धको पूर्व सतर्कताका लागि स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारले खासै चासो नदिएको सरोकारवालाले बताए।

केही दिन अघि भित्रिएका काइके गाउँपालिका दुईसय धेरै विद्यार्थीलाई क्वारेन्टाइन व्यवस्थापन गरेर राख्न भनेकाले के गरे भन्ने जानकारी नलिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

शुक्रबारसम्म डोल्पा भित्रिएका सबैलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न लगाएको प्रशासनले बताएको छ। शनिबार भित्रिएका सर्वसाधारणलाई प्रशासनको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइन व्यवस्थापन गरेर राख्न लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी सापकोटाले जानकारी दिए। 

कर्णाली प्रदेश सरकार जिल्लाका संघीय तथा प्रदेश सांसद मन्त्रीको पहलमा ११८ जना लाई शुक्रबार मात्रै जिल्ला पुर्‍याइएको थियो। डोल्पामा सबै गरेर १० ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ।

स्वास्थ्यकर्मीको आपत्ति

डोल्पा भित्रिएका अधिकांश सर्वसाधारण परिवारसँगै रहेकाको भन्दै स्वास्थ्यकर्मी ले आपत्ति जनाएका छन्। शुक्रबारसम्म भित्रिएका कसैलाई पनि क्वारेन्टाइनमा राखिएकाले संक्रमण फैलन सक्ने भन्दै आपत्ति जनाएका हुन्। विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको पूर्व सतर्कताका लागि जिल्ला बाहिरबाट भित्रिएका सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने उनीहरूको भनाई छ।

कसैलाई सुरुमै कोरोना भाइरसको लक्षण जस्तै उच्च ज्वरो आउने, छाती दुख्ने जस्ता समस्या देखिए पनि कतिपयलाई चौध दिनको अवधिमा मात्रै देखिने उनीहरूको भनाई छ। यस बीचमा क्वारेन्टाइनमा राखेर विशेष निगरानी गर्नुपर्नेमा प्रहरी प्रशासन र स्थानीय सरकारले चासो नदिँदा परिवारसँगै गएको उनीहरूले बताए।

सुरुमै लक्षण देखिएपछि ल्याव टेस्ट गेरर आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने र नदेखिएकालाई पनि क्वारेन्टाइनमा राख्नु पर्ने त्रिपुराकोट हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी शेरबहादुर कठायतले बताए।

शहरबाट आएको कुनै व्यक्तिमा यदि कोरोना संक्रमण भइहालेमा उसँग सम्पर्कमा आउने सबै व्यक्तिमा कोरोना सर्न सक्नुका साथै गाउँभरि नै फैलिन सम्भावना उत्तिकै हुने उनको भनाई छ। 'जिल्ला बाहिरबाट आएका सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने हो। तर त्रिपुरासुन्दरी नगरपालिकाले अझैसम्म पनि क्वारेन्टाइनको व्यवस्थापन नगरेकाले सामान्य जाँच गर्दै पठाउँदै गरेका छौं' कठायतले भने।

जाँच गरिएका सवैले क्वारेन्टाइनमा बस्न तयार भएको बताउने गरेता पनि स्थानीय तहले व्यवस्थापन नगर्दा परिवारसँग बस्न बाध्य भएको कठायतले बताए। जाँच गरेर पठाएका सबै खुलस्त रुपमा परिवारसँगै बसेका पनि स्थानीय सरकार र प्रहरी प्रशासन गम्भीर नभएको स्वास्थ्यकर्मीले गुनासो गरे।

विश्वमा कोरोनाले महामारीको रुप लिइसक्दा समेत डोल्पाका स्थानीय तह र प्रशासनले कोरोना भाइरसलाई सहज रुपमा लिएर पूर्व सतर्कताका लागि गम्भीर नभएको सरोकारवालाले बताए।

सेनाको ईश्वरीबक्स गुल्म सुलिगाडमा २० बेड र नन्द बक्स गुल्म (घ) मा दुई वेडको क्वारेन्टाइन बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.