|

बागलुङ  : तत्कालीन धौलागिरी अञ्चलका चार जिल्लाका करिब ६ लाख सर्वसाधारणको उपचार केन्द्र रुपमा रहेको बागलुङ सदरमुकामस्थित धौलागिरी अञ्चल अस्पतालमा  आइसियुको व्यवस्था भने छैन।

आइसियुमा बस्नुपर्ने अवस्थामा यस अस्पतालमा उपचारका लागि आएका  बिरामीलाई पोखराका विभिन्न अस्पतालमा रेफर गरिँदै आइएको छ।

‘हामीसँग आइसियुका लागि इक्युपमेन्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले भने, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ, तर भेन्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौं। कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखा परे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ।’ 

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा. पोखरेलले बताए। ‘आइसियुका लागि हामीले आएदेखिनै प्रयास थालेका हौं,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले भने, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ।’

आइसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफुहरु रहेको भए पनि मेडिकल इक्युपमेन्टकै ग्यारेन्टी नभएको अध्यक्ष रानाको दाबी छ। कोभिड–१९ का बिरामी आएमा वा अन्य समयमा समेत अस्पतालमा आइसियुको आवश्यकता रहेको उनको भनाइ छ। केन्द्र र प्रदेश सरकार दुवैले झण्डै ६ लाख सर्वसाधारणको हितमा हुने गरी सोच्नुपर्ने बेला आएको अध्यक्ष राना मगरले बताए। 

अस्पतालले कोभिड–१९ सँग जुध्न यसअघि नै आपताकालीन सहायता कक्ष लगायत आइसोलेसन बेडको व्यवस्था गरेको छ। अस्पतालले बनाएको आइसोलेसनमा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी राख्न नसकिने डा. पोखरेल बताउँछन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.