'गाउँमा एकै ठाउँमा भेला भएर खसी काटेर खाएका छन् त्याे राेक्नु छ'

|

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विश्‍वभर फैलिएको कोरोना रोकथामका लागि युवा संघ जनताको साथमा रहेर काम गर्ने बताएका छन्। 

उनले थाहाखबरसँगको कुराकानीको क्रममा युवा संघले कोरोना रोकथामका लागि जनचेतना फैलाउन देशभरि आन्तरिक रुपमा परिपत्र जारी गरिसकेको बताए। 

‘कोरोनाको महामारी विश्‍वभरि फैलिएको छ। त्यसमा नेपाल पनि अछुतो रहन सकेन’, उनले भने, ‘त्यसैले हामीले आन्तरिक परिपत्र जारी गरेर जहाँ जहाँ छौँ। त्यहिंबाट जनताको पक्षमा सक्दो सहयोग गर्न निर्देशन दिएका छौँ।’

‘गाउँगाउँमा गएर कोरोनाको रोकथाम न्यूनीकरण गर्ने उपाय सिकाउँदै हिँड्ने अवस्था त छैन। तर, पनि हामीले जनतालाई सचेतना फैलाउने क्रममा युवा परिचालन गरेका छौ’, उनले भने। 

अस्पताल, क्‍वारेन्टाइन बनाउनका लागि पनि प्रत्येक क्षेत्रमा युवा संघका सहयोग गरेको जिकिर गरे। मुख्यगरी, युवा संघले कोरोनाको विषयलाई लिएर दुई विषयमा काम गर्दै गरेको बताए। 

‘पहिलो त हाम्रो प्राथामिकता सचेतना र क्‍वारेन्टाइन निर्माणमै छौँ। त्यसपछि हामीले सहरी श्रमिकको विषयमा पनि आवाज उठाइरहेका छौ’, उनले थपे, ‘लकडाउनपछि अहिले श्रमिकहरुको बिजोग भएको छ। बिहानबेलुका हातमुख जोड्नै समस्या भएको देखिएको छ। जुन देखिएको समस्या समाधान गर्न युवा संघ सक्रिय भएको छ।’

युवा संघका केही व्यक्तिले श्रमिकहरुलाई खाद्यान्न लगायको अत्यावश्यक सामग्री सहयोग गरिसकेको समेत प्रस्टयाए। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर युवा संघले बिरामी ओसारपसार गर्ने काम गर्दा के हुन्छ भन्ने विषयमा समेत छलफल भइरहेको बताए। 

‘युवासंघले अत्यावश्यक परेको बेलामा बिरामी अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरिरहेको छ’, उनले भने, ‘स्वास्थ्यजस्तो जोखिमपूर्ण काम भएकाले हामीले यो विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल चलाइरहेका छौँ।’

मुख्यगरी, लकडाउनपछि सहर क्षेत्रमा कार्यान्वयन भएको भए पनि ग्रामीण क्षेत्रमा त्यसको खासै असर नपरेको देखिएको उनी बताउँछन्। ‘लकडाउन सहर बजारमा त कार्यान्वयन भएको छ। तर, ग्रामीण क्षेत्रमा सबै गएका छन्। उनीहरु एकै ठाउँमा जम्मा भएर खसी काटेर रमाइलो गर्ने गरेको सुनेका छौं’, उनले भने, ‘त्यस्तो अवस्थालाई तत्काल रोक्न युवा संघ सक्रिय भएको छ र जहाँ रहेर भए पनि काम गरिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.