|

बैतडी : कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका बैतडीका २ जनाको नमूना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ७ का ४२ वर्षीय गोपाल बोहरा र दशरथचन्द नगरपालिका ७ का ५८ वर्षीया घुम्रा लुहारको नमूना रिपोर्ट नेगेटिभ आएको हो। 

यसअघि दुबै जना आइसोलेसनमा राखिएको भए पनि रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले जानकारी दिए।

बोहरा गत मंगलबार भारतबाट नेपाल आएका हुन् भने घुम्रा घरैबाट ज्वरो आएपछि चेकजाँचका लागि जिल्ला अस्पताल पुगेका थिए। बोहराको १००.८ डिग्री फरेनहाइट ज्वरो र बृद्धाको १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि कोरोना आशंकामा दुबैजनाको घाँटी र नाकको र्‍याल (थ्रोट स्वाव ) परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

बैतडीमा पनि लकडाउन भए पनि भारतबाट अबैध रुपमा महाकाली नदीमा ट्युब तथा डुंगाबाट आउँदा जिल्लामा संक्रमणको जोखिम बढ्दै गएको छ। अबैध रुपमा नेपाल आएका त्यस्ता  नागरिकले स्वास्थ्य चेकजाँच नगर्नुका साथै क्वारेन्टाइनमा समेत बस्न नमान्ने गरेको बताइएको छ। 

भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.