जुनिचाँदेले राख्याे ३७ जनालाई विद्यालयको क्‍वारेन्टाइनमा

|

तनहुँ/जाजरकाेट : वैदेशिक रोजगारीबाट फर्किएका तनहुँका ५ सय ५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको तनहुँका स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए। 

जिल्लाका १० वटै स्थानीय तहमा गठन गरिएको शीघ्र प्रतिकार्य समूहको सहयोगमार्फत शनिबारबारसम्म ५ सय ५७ जना भेटिएको प्रमुख अधिकारीले बताए। विदेशबाट आउनेको अझै खोजी भइरहेको उनले बताए। 

‘जिल्लाभित्र छिमेकी राष्ट्र भारतलगायत विभिन्न देशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ, उनीहरुको समय–समयमा चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षणसमेत भइरहेको छ,’ उनले भने। उनका अनुसार अधिकांश भारतबाट फर्किने छन्। 

हालसम्म व्यास नगरपालिकामा ५१, शुक्लागण्डकी नगरपालिकामा १ सय १०, भानु नगरपालिकामा २२, भिमादमा १ सय ६, म्याग्दे गाउँपालिकामा ८३, घिरिङमा ५०, रिसिङमा ७५, बन्दीपुरमा ११, आँबुखैरेनीमा २२ र देवघाटमा २७ जना विदेशबाट फर्किएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। त्यस्तै जिल्लामा ६१ वटा क्वारेन्टाइन सञ्चालन गरिएको भए पनि सरकारको शनिबार बसेको बैठकले प्रत्येक पालिकाका वडामा ५ देखि १० शैयाको क्वारेन्टाइन सञ्चालन गर्नुपर्ने निर्णय भएको छ। 
आइसोलेसन वार्ड जिल्लामा ४५ वटा राखिएको अधिकारीले बताए। विदेशबाट फर्किएका व्यक्तिहरुमा हालसम्म कुनै पनि समस्या नदेखिएको र उनीहरुको पूर्ण रुपमा निगरानी भइरहेको प्रमुख अधिकारीले जानकारी दिए। 

यस्तै, शुक्लागण्डकीस्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा २७,  व्यासस्थित किरियापुत्री भवन र बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा ८/८ र भानुस्थित पुरानडिही स्वास्थ्य चौकीमा २ गरी ४५ शैयाको आइसोलेसन कक्ष तयार गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए। 

जुनिचाँदेमा ३७ जना विद्यालयको क्वारेन्टाइनमा 

यसैगरी जाजरकोटको जुनिचाँदेमा भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई गाउँपालिकाले विद्यालयको क्वारेन्टाइनमा आज राखेको छ। गाउँपालिकाभरि विदेशबाट आएकाहरुको लागत संकलन कार्य सकाएर आजै उनीहरुलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। वडा १ मा २ जना, २ मा ६  जना, ३ मा ६ जना, ५ मा २ जना, ६ मा ९ जना, ८ मा १ जना ९ मा ५ जना र ११ मा ५ जनालाई ११ वटा विद्यालयको क्वारेन्टाइनमा राखिएको हो। 
ती सबैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने बताइएको छ। क्वारेन्टाइनमा रहेका ३४ जना भारतबाट र ३ जना अन्य मुलुकबाट आएका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.