|

जुम्ला : कोरोना संक्रमण फैलन नदिन गत मंगलबारदेखि 'लकडाउन' गरिएपछि स्वास्थ्यचौकी समेत बन्द हुँदा जुम्लाका नागरिक समस्यामा परेका छन्‌।

तिला गाउँपालिका-३ मा रहेको कुडारी स्वास्थ्य चौकी एकसातादेखि बन्द भएको छ। सामान्य टाउको दुख्ने र ज्वरो आइहाले प्यारासिटामोल खाने विकल्पसमेत नभएको स्थानीयले गुनासो गरेका छन्‌। 

'ज्वरो आउने, टाउको दुख्‍ने समस्‍या भए तुरून्तै अस्पताल आउन विभिन्‍न सञ्‍चारमाध्‍यमबाट आग्रह भइरहेको सुनिएको छ,' तिलाका स्थानीय विष्णुकान्त भट्टराईले भने, 'तर स्वास्थ्यकर्मी नै नआएपछि कसरी स्वास्थ्यजाँच गराउनु?' 

यतिखेर तिलाका स्थानीयहरू मार्सीधानको बीउ राख्ने लगायतका काममा व्यस्त छन्‌। खेतबारीमा दैनिक काम गरिररहेका बेला केही भैहाले आपत्तकालिन उपचारका लागि खटाइएका चिकित्सकहरू कुडारीमा छैनन्‌। स्थानीय भन्छन्‌, 'स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार जस्ता अत्यावश्यक सेवा खुला नै रहेको सुन्दै आएका छौं, तर खै ! यहाँ त त्यस्तो छैन, कहाँ खुला रहेछ?' कुडारीका स्थानीयले औषधी र औषधीजन्य सामग्रीहरूको नियमित आपूर्ति गर्न माग राखेका छन्‌। 

गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश शाहीले इमर्जेन्सी र सुत्केरी सेवा बाहेक सामान्य खालका सेवा सरकारको निर्देशनअनुसार बन्द गरिएको बताए। बन्द नगरिएका दुई सेवा सञ्चालनका लागि एकजना कर्मचारी तयारी हालतमा बसेको उनको भनाई छ। 

'तर स्वास्थ्यचौकीमा त एक हप्तायता लगाइएको छ,' स्थानीय मौना कठायतले भनिन्‌, 'सरकारले स्वास्थ्यकर्मीलाई बिदा नबस्न पनि आग्रह गरेको छ, होइन र?' 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार 'लकडाउन'का बेला पनि स्वास्थ्यचौकीमा नियमित बाहेक इमेरर्जेन्सी सेवा, सुत्केरी सेवा र ज्वरो क्लिनिक अनिवार्य संञ्चालन गर्नुपर्ने हुन्छ। जनस्वाथ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा भन्छन्‌, 'प्रत्येक स्वास्थ्यचौकीले अनिवार्य रूपमा ज्वरो क्लिनिक सेवा सञ्चालन गरी उनीहरुको अवस्थाका बारेमा जानकारी दिनुपर्ने हो, तर ताला लगाएरै बन्द गर्न भने मिल्दैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.