|

म्याग्दी : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन म्याग्दीमा ५ महिलासहित ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सोमबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको रेडक्रस प्रतिनिधि सुरत केसीले जानकारी दिएका छन्‌। 

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाका गरी अहिलेसम्म विदेशबाट आएका ५ महिला र २८ पुरुष क्वारेन्टाइनमा बसेका हुन्‌। जिल्लाका ६ वटै स्थानीय तहमा १०८ बेडको क्वारेन्टाइन बनाइएको  छ 

केसीका अनुसार स्थानीय तहमा समेत विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसँगै आज (सोमबार)बाट संख्या बढ्ने भएको छ। उनले भने, ‘विदेशबाट आएकाहरू धमाधम सम्पर्कमा आउनुभएको छ, चैत १ गतेयता विदेशबाट फर्कनु भएका व्यक्तिहरू अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ।'

क्वारेन्टाइनको एउटा कोठामा एक जनालाई मात्र राख्ने प्रयास गरिएकोमा त्यो सम्भव नभएपछि दुई जनालाई राखिने भएको छ। कोरोना भाइरस रोकथाम समिति अन्तर्गतको कमाण्ड पोष्टका अनुसार स्थानीयतहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गरिएको छ। क्वारेन्टाइनमा नि:शुल्क खानेबस्ने व्यवस्थासहित इन्टरनेटको समेत सुविधा दिइएको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा रहेको कमाण्ड पोष्ट बैठकले तीनवटा निर्णय गरेको छ । ११ सदस्यीय बोर्डको बैठकले बेनी अस्पतालमा ६ बेडको आइसोलेसन वार्डसँगै जिल्लाभर स्वास्थ्यकर्मीले लगाउने ८६ वटा पिपिई रहेको जानकारी दिएको छ। खाद्यान्न र पेट्रोलियम पदार्थ सहज रूपमा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.