|

गुल्मी : चालू आर्थिक बर्षको सात महिनाभित्रै गुल्मी जिल्ला अदालतमा सम्बन्ध-विच्‍छेदका १७४ वटा मुद्दा दर्ता भएका छन्। गुल्मी अदालतका श्रेस्तेदार कृष्णशरण लामिछानेका अनुसार चैत ६ गतेसम्म १२४ जना महिला र ५० जना पूरुषहरूले 'सम्बन्ध-विच्‍छेद गरि पाउँ' भनि अदालतमा मुद्दा दर्ता गराएका छन्‌।

अदालतका अनुसार यसअघि सम्बन्ध-विच्छेदका महिलाहरूको मुद्दा बढी आउने गरेपनि पछिल्लो समयमा पूरुषले पनि सम्बन्ध-विच्‍छेदका लागि मुद्दा दायर गर्ने क्रम बढेको छ। नयाँ मुलुकी ऐन संहिता, २०७४ मा पुरुषले पनि सम्बन्ध-विच्‍छेदका लागि मुद्दा दर्ता गराउनसक्ने प्रावधान राखिएको छ।

दाम्पत्य जीवनमा तनाव ब्यहोरेका र समस्या भोगेका पुरूषहरूले सोही प्रावधानअनुसार अदालतमा सम्बन्ध-विच्‍छेदका लागि मुद्दा दर्ता गराउन थालेका छन्‌। जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये करिब दूई तिहाई मुद्दा सम्बन्ध-विच्‍छेदसँग सम्बन्धित भएको श्रेष्तेदार लामिछानेले जानकारी दिए ।

महिला आफैं सम्बन्ध विच्छेदका लागि मुद्दा लिएर आउँदा श्रीमान्‌ले अर्की महिलासँग सम्बन्ध राखेको, आफनो दायित्व र कर्तव्य पूरा नगरेको, पैसा कमाएर अरूसँगै रमाई बालबच्चा र घरपरिवारलाई वास्ता नगरेका जस्ता समस्या उल्लेख गर्ने गरेका छन्‌। यस्तै, पुरुषहरुले पनि आफ्नी श्रीमती परपुरूषसँग लागेको, विश्वासको संकट भएको र दायित्व पूरा नगरेकोजस्ता विषयलाई सम्बन्ध विच्छेद चाहनुको कारण उल्लेख गर्ने गरेका छन्‌।

सम्बन्ध-विच्छेदका लागि पुरूष र महिलाले उल्लेख गरेका कारणहरू विश्लेषण गर्दा महिला पूरुष दुबैले आ-आफनो दायित्व र कर्तव्य पूरा नगरेको, एकआपसमा विश्वासको संकट बढ्दै जाने गरेको र सम्बन्ध बिगारिदिन चाहने कुरौटेहरू हावी हुने गरेको देखिएको अदालतका अधिकारीहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.