|

तनहुँ : दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएको विपन्न परिवारलाई युवाहरुको सक्रियतामा खाद्यान्न उपलब्ध गरिएको छ। नोभल कोरोना भाइरसको संक्रमित नेपालमा भेटिएसँगै सरकारले लकडाउन गरेपछि विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्। 

व्यास युवा क्लब सञ्जाल र सामाजिक युवा अभियान्ताको ‘छिमेकी सहयोग अभियान’मार्फत् उनीहरुलाई सहयोग गर्दै आएको छ। छिमेकी सहयोग अभियानअन्तर्गत आइतबार व्यास नगरपालिका–१२ को घर्ती, चेपाङ र तामाङ समुदायलगायतको विपन्न २३ घरपरिवारलाई चामल उपलब्ध गराएको व्यास युवा क्लब सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए। व्यास युवा क्लव सञ्जालका अध्यक्ष पन्थ एवं सञ्जालका सल्लाहकार लक्ष्मीभक्त खनालको संयुक्त रूपमा सो सामान जुटाएर उनीहरुलाई वितरण गर्दै आएका छन्।

दमौलीका सुनिल घिमिरे र सुरेश घिमिरेले आठ बोरा चामल, श्याम मौरतीबाट पाँच बोरा, सन्तोष गोदारबाट पाँच बोरा र पोखराका अर्जुन केसीबाट पाँच बोरा गरी कुल २३ बोरा चामल विपन्न परिवारलाई उपलब्ध गराइएको हो। ज्यालादारी काम गरी दैनिक जीवनयापन गर्ने र विशेषगरी घरको ढलानमा सामुहिक सहभागी हुने परिवारलाई खाद्यान्न सहयोग गरिएको उनले बताए।

त्यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीको संयोजकत्वमा निजी स्रोतबाट विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको छ। वडाभित्रका मजदुरी गरेर गुजारा चलाउँदै आएका ८३ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष रेग्मीले बताए। प्रतिपरिवारलाई ३० किलोग्रामको एक बोरा चामल, तेल, नुन वितरण गरिएको छ । १५ दिनलाई पुग्ने गरी खाद्यान्न उपलब्ध गराएका वडाध्यक्ष रेग्मीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.