|

बाँके : कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गरी अहिले विश्व नै लकडाउनको अवस्थामा छ। एक व्‍यक्तिबाट अर्को व्‍यक्तिमा सजिलै सर्ने भएकोले विश्वका अधिकांश देशहरूले हिँड्डुल, सभा, सम्मेलन, भेलामा प्रतिबन्ध लगाएका छन्। स्थलमार्ग तथा हवाईमार्ग पनि अधिकांश देशमा बन्द छन्।

सरकारी, गैरसरकारी, संस्थान, बैँक, वित्तीय संस्था पनि बन्द गरिएको छ। बजार, कलकारखाना, विद्यालय, क्याम्पस पनि बन्द छन्। अस्पतालले इमरजेन्सी सेवा बाहेकका सेवा बन्द गरेर लकडाउनलाई सहयोग गरिरहेका छन्। सर्वसाधारणलाई अत्यावश्यक सामग्री किनमेलमा समेत आधा प्रतिबन्ध लगाइएको छ।

यसले सधैँ भरिभराउ रहने शहरका सडक पनि सुनसान छन्। अहिले बाहिर निस्कनेलाई छिमेकीले नराम्रो नजरले हेर्न थालेका छन्। एउटा छिमेकीले अर्को छिमेकी घरमा नआई दिए हुन्थ्यो भन्ने लाग्ने गरेको छ।

पुराना किताब पढ्न अवसर

अहिले मान्छे देखेर मान्छे भाग्ने, लुक्ने र डराउने अवस्था सिर्जना भएको छ। बाहिर निस्कन नपाउँदा अधिकांशले हैरान महशुस गरिरहेका छन्। दिन बिताउन मुस्किल परेको छ। तर, राजनीतिक विश्लेषक डा. जनार्दन आचार्यलाई लकडाउनले पुस्तक पढ्ने अवसर जुराइदिएको छ। उनले लकडाउनले पुराना किताब पल्टाउने अवसर जुराइदिएको बताए।

बाहिर निस्कन नपाइने भएपछि धुलो टक्टक्याउँदै पुराना पुस्तक निकालेर पढ्ने गरेको बताए। नपढेर थन्क्याइएका किताब खोजेर एक/ एक गर्दै पढ्ने गरेको बताउँदै उनले पढ्न मन नलागेर थन्क्याएका किताबसमेत बाँकी नरहेको बताए। ‘दराजमा थन्केर बसेका किताब खोज्दै छानीछानी पढ्ने र यत्रतत्र छरिएर रहेका पुस्तक मिलाएर राखेर लकडाउनको सदुपयोग गर्दैछु,’ डा. शर्माले भने।

दिनभर एक्लै बसेर पढ्छु

आयुर्वेद चिकित्सक डा. गिरिराज शर्मा भट्टराईलाई पनि लकडाउनले पुस्तक पढ्ने अवसर जुराई दिएको छ। उनले ११–१५ चैतसम्म आधा दर्जन पुस्तक पढ्न भ्याएका छन्। लकडाउन हुने खबर बाहिर आएपछि नयाँ–नयाँ पुस्तक खरिद गरेको बताउँदै उनले दिनभर एक्लै बसेर किताब पढ्ने गरेको बताए। यसअघि दिनभर काममा व्‍यस्त भएर पुस्तक पढ्ने समय पाइन्थ्यो। ‘लकडाउनले नयाँ–पुराना उपन्यास तथा आयुर्वेद औषधिसम्बन्धी पुस्तक पढेर थप ज्ञान लिने अवसर जुरेको छ,’ डा. भट्टराईले भने।

घरमै पढेर बस्छु

सिविन नेपालगन्जका प्रमुख शिद्धराज पनेरुको दिनचर्या पनि पुस्तक पढेर बित्ने गरेको छ। उनले बालकालिकासम्बन्धी पुस्तक पढेर लकडाउनको सदुपयोग गरिरहेको उनले बताए। बाहिर निस्कँदा आफैँलाई हानि हुने भएकोले घरपरिवारसँगै बस्ने र नयाँ नयाँ पुस्तक पढ्ने गरेको उनको भनाइ छ। ‘कहिले कता, कहिले कता गएर फुर्सद पाइन्थ्यो, लकडाउनले घरपरिवारका सदस्यसँग बस्ने र नयाँ–नयाँ पुस्तक पढेर ज्ञानगुनका कुरा सिक्ने मौका मिलेको छ,’ पनेरुले भने।

राष्ट्रिय मानवअधिकार आयोग, नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईँको दिनचर्या कार्यालयमा बसेर विभिन्न थरिका वेबसाइट हेरेर बित्ने गरेको छ। उनले पत्रपत्रिका पनि नआउने भएकोले वेबसाइटलाई सूचनाको साथी बनाएका छन्। उनले विभिन्न व्‍यक्तिको जीवनी पढ्न रुची भएको बताए।  ‘पुस्तक पढेर मिछ्यार लागेपछि विश्व समुदायमा भएका घटनाको जानकारी लिन नयाँ–नयाँ वेबसाइट हेरेर दिन बिताउँछु,’ उनले भने।

उकुसमुकुस भएको छ

लकडाउनले घर बाहिर निस्कन नपाउँदा इन्सेकका संयोजक भोला महतलाई उकुसमुकस भएको छ। तर, उनी सरकारले कोरोना नियन्त्रण गर्न चालेको अभियानमा साथ दिन उकुसमुकुसबीच पनि घरबाहिर निस्केका छैनन्।

उनले पुस्तकलाई समय बिताउने सहारा बनाएको उनले बताए। एकजनाका कारण धेरैलाई हानि नहोस् भन्ने हेतुले घरबाहिर ननिस्केको उनले बताए। ‘हामी सबैको सुरक्षाका लागि सरकारले लकडाउन गरेको हो, लकडाउनको उल्‍लंघन गरे हामी सबैले ठूलो क्षति व्‍यहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बेलैमा बुद्धि नपुर्‍याए पछुताउनुसिवाय केही हुने छैन।’

लकडाउन लागू भएदेखि उच्च अदालत बार एशोसियशन, नेपालगन्जका अध्यक्ष विकास आचार्य पनि बाहिर निस्केका छैनन्। उनले घरमै शारिरीक व्‍यायाम गर्ने र पुस्तक पढेर दिन बिताउने गरेका छन्। राज्यले निर्माण गरेका नयाँ कानुन, उपन्यास, दर्शन र सफल व्‍यक्तिको जीवनी पढिरहेको उनले बताए।

‘पेशागत हिसाबले कानुनी ज्ञान लिनुपर्ने भए पनि दिक्दार लाग्दा उपन्यास, दर्शन र सफल व्‍यक्तिको सफलताको कथा पढेर लकडाउनको सदुपयोग गरिरहेको छु,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.