न आइसीयू शैय्या, न त समयमै परीक्षण

|

रूपन्देही : बुटवलको कोरोना विशेष अस्थाई आइसोलेशन अस्पतालमा हिजो आइबार १ बजे सैनामैना नगरपालिकाका बाबुराम थापाको मृत्यु भयो। अस्पतालले आइतबार अबेर गरि निकालेको प्रेस विज्ञप्तीमा बाबुरामको बिहानदेखि एक्कासी श्वासप्रस्वासमा समस्या आएको र दिउँसो मृत्यु भएको उल्लेख छ। 

थापा चैत ६ गते दुवईबाट काठमाडौं र ७ गते सैनामैना-४ स्थित आफ्नो डेरामा आइपुगेका थिए। डेरामा बस्न थालेको केही दिनमै उनलाई उच्च ज्वरो आएको र खोकी लाग्न थालेको थियो। सैनामैना-४ का वडाध्यक्ष धनबहादुर कार्कीका अनुसार बाबुरामकी पत्नीले नजिकैको मेडिकलबाट केही औषधी ल्याएर खुवाएकी पनि थिइन्‌, तर थापाको स्वास्थ्यमा सुधार भएन। त्यसपछि वडाध्यक्ष र केही छिमेकीहरुको सहयोगमा उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइएको थियो। 

कोरोनाको संक्रमणसँग मिल्लोजुल्दो लक्षण देखा परेको भन्दै स्वास्थ्य चौकीले बुटवल जान सुझाएपछि बाबुराम चैत १३ गते साँझ ई-रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए। 

बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु

उनी अस्पताल आउँदा नै उच्च ज्वरो, खोकी र बढ्दो श्वासप्रस्वासजस्ता लक्षण देखिएको अस्पतालको विज्ञप्तीमा उल्लेख छ। अस्पताल पुगेपछि बाबुरामको ‘स्क्रिनिङ’ गरिएको थियो। सो पश्चात कोरोनाको आशंका भएपछि धागो कारखानामा बनाइएको अस्थायी आईसोलेटेड अस्पताल लगेर भर्ना गरिएको थियो।

भर्ना गरेको ३ दिन पछि बाबुरामको मृत्यु भएको अस्पतालले घोषणा गरिरहँदा कारण भने खुलाउन सकेको छैन। बरु कोरोनाको आशंका गरिएकाले परीक्षणका लागि बाबुरामको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जानकारी दिएको छ। स्वाब परीक्षणको रिपोर्ट आउन कम्तीमा अझै एक दिन लाग्नेछ। मृत्यु हुनुअगावै उनमा निमोनियाका लक्षणहरु देखा परेको डाक्टरहरुको ‘क्लीनिकल डायग्नोसीस’मा देखिन्छ। 

आइसोलेशनमा न आइसीयू, न त भेन्टिलेटर !

कोरोना संक्रमणको आशंका गरिएका बाबुरामलाई भर्ना गरिएको अस्पताल अघिलो हप्तामात्रै बुटवल उपमहानगरपालिकाले बनाएको हो। त्यहाँ लुम्बिनी प्रादेशिक अस्पतालले प्राविधिक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको छ। आइसोलेसन अस्पतालमा निमोनियाका जटिल बिरामीहरूको उपचारका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर त परै जाओस्, सामान्य आइसीयू शैय्या समेत छैनन्। 

यता बाबुरामको 'क्लिनिकल डायग्नोसीस' गरेका डाक्टरहरुले फोक्सोसँग जोडिने श्वासनलीको तल्लो भागमा संक्रमण (एलआरटीआइ) देखिएको बताएका छन्‍। 'क्लिनिकल डायग्नोसीस' अर्थात् बिरामीले देखाएको लक्षण तथा संकेतको आधारमा गरिने निदानमा देखिएको एलआरटीआइलाई सामान्यतया: निमोनिया भनेर पनि बुझिन्छ। त्यसलगत्तै अस्पतालले निमोनियाको औषधी चलाएको थियो। 

क्‍वारेन्टाइनमा मृत्यु : कोरोनाकै लक्षण देखिए पनि परीक्षण र उपचार पाएनन्

औषधीले काम नगरेपछि आइतबार बिहानै बाबुरामको श्वासप्रस्वासमा जटिलता देखियो। बिहानैदेखि समस्या देखिएपनि अस्पतालले बाबुरामलाई भेन्टिलेटर जडित आइसीयू कक्षमा लैजान नसक्नुका पछाडि लापरवाही नै प्रमुख कारण देखिएको छ।

आइसोलेशन अस्पतालमा आइसीयू नभएपनि त्यहाँबाट करिब ५ किलोमिटर दुरीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा दुई भेन्टिलेटरसहितका ७ वटा आइसीयू बेडहरु छन्। तर, बाबुरामलाई भने प्रादेशिक अस्पतालले नै चिकित्सकीय व्यवस्थापन हेरिरहेको आइसोलेशन अस्पतालमा राखेर मृत्यु नहुँदासम्म ‘लक्षणहरुमाथि निगरानी गरिएको' थियो। 

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले कोरोना शंकास्पद व्यक्तिलाई अन्य बिरामी राख्ने आइसीयूमा राख्न नमिल्ने र प्रादेशिक अस्पतालका आइसीयूमा रहेका बिरामीहरु हटाउन सम्भव नभएकाले त्यहाँ नलगिएको बताए। उनले भने, ‘अन्य प्यासेन्टलाई हटाएर कोरोना शंकास्पद बिरामीलाई राख्न मिलेन।’

अस्पतालका 'फोकल पर्सन' डा. सुदर्शन थापाले शनिबार रातीसम्म स्वास्थ्य स्थिर रहेको र बिहान एक्कासी श्वासप्रस्वासमा जटिलता देखिएका कारण आइसीयूमा लैजाने तयारी हुँदै गर्दा बाबुरामको मृत्यु भएको दाबी गरे।

समयमै गरिएन परीक्षण 

बाबुराम १२ दिन अगाडि कोरोना संक्रमण फैलिएकामध्यको देश दुबईबाट स्वदेश फर्केका थिए। आएदेखि नै उनमा ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या देखिएको थियो। आईसोलेटेड अस्पतालका डाक्टरहरुले गरेको 'क्लिनिकल डायग्नोसीस'मा निमोनिया देखिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दिएका लक्षणहरुको सूचीसँग बाबुरामले देखाएका लक्षणहरु दाँज्दा कोरोनाको परीक्षण तत्काल गर्नुपर्ने कुराको हेक्का अस्पताललाई नभएको भने होइन। 

तर, यति हुँदाहुँदै पनि अस्पताल भर्ना भएको तीन दिनसम्म कोरोना परीक्षणको लागि 'स्वाब' नपठाउनु अर्को गैह्रजिम्मेवारी देखिएको छ। अस्पतालले बिरामीको मृत्यु हुनुभन्दा केही घण्टा अगाडीमात्रै अर्थात भर्ना भएको तीन दिनपछि मात्रै 'स्वाब' लिई काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। 

प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले समय अनुकुल नमिलेकाले 'स्वाब' पठाउन नसकिएको जवाफ दिएका छन्‌। उनी भन्छन्‌, ‘बिरामी आएको १३ गते साँझ हो, १४ गते उहाँको मात्रै स्याम्पल पठाउने कुरा आएन, १५ गते शनिबार नै भयो, त्यसैले १६ गते पठाएका हौं।’

मृतक शव गृहमा, परिवारको बिचल्ली 

पतिको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि काठमाडौं लैजान तुरुन्तै अस्पताल अउनुपर्‍यो भन्दै फोन आएपछि मृतककी पत्नी रिता थापा आइतबार १० बजेतिर अत्तालिँदै एम्बुलेन्समा अस्पताल पुगेकी थिइन्। अस्पतालमा पतिको अवस्थाबारे बुझ्न खोज्दा मृत्यु भइसकेको जानकारी पाइन्‌।

स्वास्थ्यकर्मीले अस्पतालभित्र जान रोकेपछि आइतबार साँझसम्म आइसोलेशन अस्पतालको बाहिर नै कुरेर बसिन्। उनलाई लिन न त उनका आफन्त आए, न त सैनामैना नगरपालिकाका कुनै जनप्रतिनिधि! मृतकलाई भने साँझपख लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखियो। 

अस्पतालले मृतक बाबुरामको स्थायी घर भएको स्थान पाल्पाको रिब्दीकोट गाउँपालिका र अस्थायी रुपमा बसोबास गर्दै आएको सैनामैना नगरपालिकालाई घटनाबारे अवगत गराई परिवारलाई नै तुरुन्त क्वारेण्टाइनमा राख्न सुझाव दिएको थियो। 

तर अहिलेसम्म नगरपालिकालाई रीताको वास्तविक अवस्थाबारे थाहा छैन, न त बाबुरामसँग सम्पर्कमा रहेका व्यक्तlहरुको नै खोजी भएको छ। ‘हिजो साँझसम्म अस्पताल अगाडी नै थिइन् रे, साँझ कोही आफन्ती आएर लिएर गयो भन्ने सुनेका छौं,’ वडाध्यक्ष धनबहादुर कार्कीले बताए। रिताका दुई छोराहरू भने घरमा नै रहेको उनले बताए। 

कोरोना शंकास्पद व्यक्तिको मृत्यु हुँदासमेत उनका परिवारलाई नगरपालिकाले क्वारेण्टाइनमा राखेको छैन। ‘कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै क्वारेण्टाइनमा राख्ने कि नराख्ने भनेर थाहा हुने कुरा हामीलाई मेयरले भन्नुभएको छ,’ वडाध्यक्ष कार्कीले बताए। 

बिरामीको ज्यान गएपछि बल्ल आइसीयू 

यतिखेर कोरोना विशेष अस्थायी अस्पतालमा १० बेडको आइसीयू कक्ष बनाउन लागिएको छ। आइतबार सोही अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु भएपछि बल्ल लुम्बिनी प्रादेशिक अस्पताल आइसीयू बनाउने तरखरमा जुटेको हो।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो। आइसीयू सञ्चालनका लागि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ४ थान बेड, भेन्टिलेटर र सक्सनलगायतका सामाग्रीहरु जडान गरिदिने भएको र बाँंकी ६ वटा बेड तथा आवश्यक उपकरणहरु क्रमशः जोड्दै जाने अध्यक्ष भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.