|

उदयपुर : उदयपुरका आठवटै स्थानीय तहहरूले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन बनाएका छन् भने नगरपालिकाहरूले सुविधासम्पन्न ‘आइसोलेसन’ तयार गरेका छन्‌। 

जिल्लाको चौदण्डीगढी नगरपालिकाले दुईजना डाक्टर र अन्य स्वास्थ्यकर्मीमार्फत २४ सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने गरी सात शय्याको सुविधासम्पन्न ‘आइसोलेसन’ र ३९ शय्याको ‘क्वारेन्टाइन’ निर्माण गरेको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए। प्रत्येक वडाहरूमा क्वारेन्टाइन निर्माण गरेर स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उनले बताए।

नगरपालिकाले उपचारमा संलग्न चिकित्सकका लागि ३० थान र चालकका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरेको छ। साथै, हात सफा गर्ने सेनिटाइजर, मास्क, पञ्जासहित चारवटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको नगरप्रमुख राईले बताएका छन्‌। नगरक्षेत्रमा विदेशबाट आएका ६ जना फेला परेपनि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ। 

रौतामाई गाउँपालिकाले कोरोना भाइरस संक्रमणलाई भित्रिना नदिन १० लाख रूपैयाँबराबरको कोष स्थापना गर्नुका साथै ६ शय्याको ‘क्वारेन्टाइन’ १ शय्याको आइसोलेशन वार्ड स्थापना गरेको छ। गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार पालिका प्रवेश गर्ने सबै नाकाहरूमा कडाई गरिएको छ र ‘हेल्थडेक्स’ स्थापना गरिएको छ। शंकास्पद देखिए ‘क्वारेन्टाइन’मा राखिने तयारी भएको पनि खड्काले जानकारी दिए। उनका अनुसार हालसम्म शंकास्पद व्यक्तिहरू गाउँपालिकाको सम्पर्कमा आएका छैनन्‌।  अहिले प्रत्येक वडामा विदेशबाट आएकाहरूको खोजी कार्य भैरहेको खड्काले बताए।

लिम्चुङबुङ गाउँपालिकामा २० शय्याको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। विदेशबाट आएकामध्ये तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरसबाट संक्रमित युवतीसँगै कतार एयरवेजको फ्लाइटबाट ४ गते  फर्किएका एकजना व्यक्ति लिम्चुङबुङका समेत रहेका छन्‌। गाउँपालिका अध्यक्ष राईका अनुसार ती व्यक्तिलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि ‘क्वारेनटाइन’ मा राखिएको छ।

यतिखेर गाउँपालिका बाहिरका मानिसलाई लिम्चुङबुङ प्रवेशमा रोक लगाइएको छ। पालिकाका मानिसहरूलाई भने चेकजाँच पछि प्रवेश गर्न दिइएको छ। पालिका प्रवेश गर्ने सबै नाकामा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ।

त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पसमा २५ शय्याको क्वारेन्टाइन निर्माण गरको छ। चैत महिनामा अन्य देशहरूबाट आएकालाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। संक्रमित भेटिइहाले आवश्यक उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मी र खाद्यान्न समेत व्यवस्थापन गरिसकिएको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए। 

यसअघि बाग्लुङमा भेटिएकी कोरोना संक्रमित युवतीका साथमा आउनेहरूमध्ये यो नगरपालिकाका एकजना रहेको जानकारी प्राप्त भइसकेको छ। घोपा लगेर ती व्यक्तिको स्वास्थ्यजाँच गरिएकोमा सामान्य अवस्था देखिएपछि अहिले घर फर्काइएको नगरप्रमुख चौधरीले बताए। नगरक्षेत्रमा विदेशबाट आउनेहरू १०० हाराहारीमा रहेको र सबैलाई होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।

नगरपालिकाको सहयोगमा जिल्ला अस्पतालले ६ शय्याको ‘आइसोलेसन’ तयार गरेको छ। अहिलेसम्म कोरोनाको आशंका गरिएका बिरामी भने आइसोलेसनमा आएका छैनन्‌। प्रवाह गर्न सक्ने सबै सेवा-सुविधा दिन आफूहरू तयारी अवस्थामा रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट जीवनारायण मण्डलले बताए।

कटारी नगरपालिकामा नेपाली सेनाले ब्यारेक नै खाली गरेर ३४ वटा भवनमा २०० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ। प्रदेश १ सरकारको सहयोगमा सेनाले ‘क्वारेन्टाइन’ निर्माण गरेको हो। ब्यारेकबाट केही पर अस्थायी टहरा निर्माण गरेर सैनिकलाई राखिएको छ। 

क्वारेन्टाइनमा विछ्यौना, झुल, मोबाइल चार्जर, बत्ती, पंखालगायतको व्यवस्था गरिएको छ। ब्यारेकको गेटमा चिकित्सकसहितको टोलीले आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

भारतको सिलिगुडीबाट काँकडभिट्टा हुँदै उदयपुरको ताप्ली गाउँपालिका हिँडेका २१ जनालाई सेनाको रणशार्दुल गणको क्वारेन्टाइनमा राखिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार कटारी अस्पतालमा एउटा ‘आइसोलेशन’ वार्ड पनि तयार गरिएको छ।

ताप्ली गाउँपालिकाका प्रत्येक वडामा एक-एक गरी ५ वटा ‘क्वारेन्टाइन’ निमार्ण गरिएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिएका छन्‌। त्यसैगरी गाउँपालिकाको ७ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। विदेशबाट फर्किएकाहरूलाई सम्पर्कमा आउन र घरमै ‘क्वारेनटाईन’मा वस्न गाउँपालिकाले आग्रह गरेको अध्यक्ष थापाले बताए।

अत्यावश्यक सामग्री र आउजाउका लागि अनुमति पत्रको व्यवस्था गरिएको तथा कडाइका साथ लकडाउन कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ। कटारीस्थित रणशार्दुल गणको क्वारेन्टाइनमा राखिएकाहरूलाई गाउँपालिकाले खानालगायतका आवश्यक सहयोग गरिरहेको छ। गाउँपालिकामा तयार गरिएका क्वारेन्टाइनमा भने अहिलेसम्म एकजनालाई पनि राखिएको छैन।

बेलका नगरपालिकाले दुई ठाँउमा ४० शय्याको ‘क्वारेन्टाइन’ निमार्ण गरेको र अहिलेसम्म कुनै पनि बिरामी सम्पर्कमा नआएको नगरप्रमुख दुर्गा कुमार थापाले जानकारी दिए। नगरपालिकाका अधिकारीहरूले विदेशबाट आउनेहरूको विवरण घर-घरमा पुगेर सङ्कलन गरिरहेका छन्‌। अहिलेसम्म विदेशबाट ४४ जना फर्किएको थाहा भएको, उनीहरू सबैलाई ‘होम क्वारेन्टाइन’ मा राख्न लगाएको र जनचेतना फैलाउने काम भैरहेको नगरप्रमुख थापाले बताए।

उदयपुरगढी गाउँपालिकाले ‘हेल्थ डेक्स’ निमार्ण गरेको र १५ शय्याको ‘क्वारेन्टाइन’ बनाएको गाउँपालिकाका प्रशासन अधिकृत माधव सुवेदीले जानकारी दिए।

उदयपुरमा जम्मा ३४० वटा ‘क्वारेन्टाइन’ र १५ शय्याको ‘आइसोलेसन’ रहेको छ। जिल्लाभर निर्माण गरिएका ‘क्वारेन्टाइन’मा हालसम्म २४ जनालाई राखिएको छ। उदयपुरमा अक्सिजन सहितको सुविधासम्पन्न आइसोलेसन तयार गरेपनि रोग पहिचान गर्ने किट्सको भने व्यवस्था हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.