ज्वरो र रुघाखोकी लागेकालाई गेट बन्द

|

काठमाडौं : नेपालमा कोरोना पुष्टि भएको गत जनवरी २३ तारिखमा हो। चीनबाट आएका एकजना युवकको स्वास्थ्य परीक्षणबाट पहिलो पटक कोरोना पुष्टि भएको थियो। तर नेपालका पहिलो बिरामी अहिले सन्चो भइसकेका छन्। 

त्यसयता चारजनामा कोरोना संक्रमण देखिएको छ। जसमा दुईजना बेल्जियम र फ्रान्स तथा दुईजना दुबईबाट आएका बिरामी हुन्। कोरोना पुष्टि भएका यी चारजना बिरामी अहिले विभिन्‍न अस्पतालमा उपचाररत छन्। 

कोरोनाको संक्रमणले महामारीको रुप नलिइसकेकै अवस्थामा नेपालका अधिकांश निजी अस्पतालले रुघाखोकी र ज्वरोका बिरामीका लागि ढोका बन्द गरिसकेका छन्। कोरोनाका लक्षण रुघाखोकी र ज्वरो हुन् तर यसो हुँदैमा सबैलाई कोरोना नै लागेको हुन्‍न। तर अधिकांश निजी अस्पतालले यस्ता बिरामीको उपचारै रोकेका छन्। केही सरकारी अस्पतालले बिरामीको सामान्य जाँचपछि उपचार नगरी अन्यत्र रेफर गर्ने फेसन नै चलेको छ।

सामान्य सुविधा रहेका अस्पतालले अहिले रुघाखोकी र ज्वरोका बिरामीलाई कुनै सुविधा नै नभएका केबल बोर्डमात्रै टाँगिएका 'कोरोना अस्पतालमा रेफर गर्न थालेका छन्। अस्पतालहरुको गैरजिम्मेवारपूर्ण व्यवहारकै कारण बुटवल, चितवन र बाराका तीन युवकले केही दिनको बीचमा ज्यान गुमाएका छन्। 

केश नम्बर १ 

बुटवलको कोरोना 'विशेष अस्थाई आइसोलेशन अस्पताल' मा आइबार १ बजे सैनामैना नगरपालिकाका बाबुराम थापाको मृत्यु भयो। अस्पतालले आइतबार साँझ निकालेको विज्ञप्तीमा बाबुरामको बिहानदेखि एक्कासी श्‍वासप्रस्वासमा समस्या आएर मृत्यु भएको जनाइयो। 

थापा चैत ६ गते दुबईबाट काठमाडौं र ७ गते सैनामैना-४ स्थित आफ्नो डेरामा आइपुगेका थिए। डेरामा बस्‍न थालेको केही दिनमै उनलाई उच्च ज्वरो र खोकी लाग्न थालेको थियो। सैनामैना-४ का वडाध्यक्ष धनबहादुर कार्कीका अनुसार बाबुरामकी पत्नीले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाएकी पनि थिइन्‌। तर थापाको स्वास्थ्य सुध्रिएन। 

त्यसपछि वडाध्यक्ष र छिमेकीको सहयोगमा उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी लगियो।  कोरोनाको संक्रमणसँग मिल्लोजुल्दो लक्षण देखा परेको भन्दै स्वास्थ्य चौकीले बुटवल जान सुझायो। अर्थात रुघाखोकी लागेको बिरामीको उपचार गर्न तयार भएन स्वास्थ्य चौकी। बाबुराम चैत १३ गते साँझ विद्युतीय रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल आए।

उनी अस्पताल आउँदा नै उच्च ज्वरो, खोकी र बढ्दो श्वासप्रस्वासजस्ता लक्षण देखिएको अस्पतालको विज्ञप्तीमा उल्लेख छ। अस्पताल पुगेपछि बाबुरामको ‘स्क्रिनिङ’ गरिएको थियो। कोरोनाको आशंका भएपछि धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पतालमा भर्ना गरियो। भर्ना गरेको ३ दिनपछि बाबुरामको मृत्यु भयो। यसमा अस्पतालले कारण खुलाउनै सकेन। 

उपचार नै पाएनन्

अस्पतालले उपचार गर्नुको साटो सुविधा नै नभएको धागो कारखानाको क्‍वारेन्टाइनमा पठाइएपछि उनले अनाहकमा ज्यान गुमाए। कोरोना आशंकमा पठाइएको स्वाब परीक्षणको रिपोर्ट पनि सोमबार आइसकेको छ। उनमा कोरोना नभएको पुष्टि जनस्वास्थ्य प्रयोगशालाको गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन्। 

मृत्युअगावै उनमा निमोनियाका लक्षणहरु देखा परेको डाक्टरहरुको ‘क्लीनिकल डायग्नोसिस’मा देखिन्छ। कोरोना संक्रमणको आशंका गरिएका बाबुरामलाई भर्ना गरिएको अस्पताल अघिलो हप्तामात्रै बुटवल उपमहानगरपालिकाले बनाएको हो। त्यहाँ लुम्बिनी प्रादेशिक अस्पतालले प्राविधिक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गरेको छ।

आइसोलेसन अस्पतालमा निमोनियाका जटिल बिरामीहरूको उपचारका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर त परै जाओस्, सामान्य आइसीयू शय्यासमेत छैनन्।  यता बाबुरामको 'क्लिनिकल डायग्नोसिस' गरेका डाक्टरहरुले फोक्सोसँग जोडिने श्‍वासनलीको तल्लो भागमा संक्रमण (एलआरटीआइ) देखिएको बताएका छन्। 

'क्लिनिकल डायग्नोसीस' अर्थात् बिरामीले देखाएको लक्षण तथा संकेतको आधारमा गरिने निदानमा देखिएको एलआरटीआइलाई सामान्यतया: निमोनिया भनेर पनि बुझिन्छ। त्यसलगत्तै अस्पतालले निमोनियाको औषधि चलाएको थियो। 

क्‍वारेन्टाइनमै गयो ज्यान

आइसोलेशन अस्पतालमा आइसीयु नभए पनि त्यहाँबाट करिब ५ किलोमिटर दुरीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा दुई भेन्टिलेटरसहितका ७ वटा आइसीयू बेडहरु छन्। 

तर, बाबुरामलाई भने प्रादेशिक अस्पतालले नै चिकित्सकीय व्यवस्थापन हेरिरहेको आइसोलेशन अस्पतालमा राखेर मृत्यु नहुँदासम्म ‘लक्षणहरुमाथि निगरानी गरिएको' थियो।  

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले कोरोना शंकास्पद व्यक्तिलाई अन्य बिरामी राख्ने आइसीयूमा राख्न नमिल्ने र प्रादेशिक अस्पतालका आइसीयुमा रहेका बिरामीहरु हटाउन सम्भव नभएकाले त्यहाँ नलगिएको बताए। उनले भने, ‘अन्य प्यासेन्टलाई हटाएर कोरोना शंकास्पद बिरामीलाई राख्न मिलेन।’ 

अस्पतालका 'फोकल पर्सन' डा. सुदर्शन थापाले शनिबार रातीसम्म स्वास्थ्य स्थिर रहेको र बिहान एक्कासी श्वासप्रस्वासमा जटिलता देखिएका कारण आइसीयूमा लैजाने तयारी हुँदै गर्दा बाबुरामको मृत्यु भएको दाबी गरे। 

समयमै गरिएन परीक्षण 

बाबुराम १२ दिन अगाडि कोरोना संक्रमण फैलिएकामध्यको देश दुबईबाट स्वदेश फर्केका थिए। आएदेखि नै उनमा ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या देखिएको थियो। 

आइसोलेटेड अस्पतालका डाक्टरहरुले गरेको 'क्लिनिकल डायग्नोसिस'मा निमोनिया देखिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दिएका लक्षणहरुको सूचीसँग बाबुरामले देखाएका लक्षणहरु दाँज्दा कोरोनाको परीक्षण तत्काल गर्नुपर्ने कुराको हेक्का अस्पताललाई नभएको भने होइन।  तर, यति हुँदाहुँदै पनि अस्पताल भर्ना भएको तीन दिनसम्म कोरोना परीक्षणको लागि 'स्वाब' नपठाउनु अर्को गैह्रजिम्मेवारी देखिएको छ।

अस्पतालले बिरामीको मृत्यु हुनुभन्दा केही घण्टा अगाडीमात्रै अर्थात भर्ना भएको तीन दिनपछि मात्रै 'स्वाब' लिई काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले समय अनुकुल नमिलेकाले 'स्वाब' समयमा पठाउन नसकिएको जवाफ दिए।

केश नम्बर २ : लुपसका बिरामीले पाएनन् उपचार 

भरतपुर महानगरपालिकाले सञ्‍चालन गरेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा वीरगञ्‍जका एक युवकले गत साता ज्यान गुमाए। तर उनले ज्यान गुमाएपछि आएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो।

उनी सुरुमा उपचारका लागि चितवन मेडिकल कलेज पुगेका थिए। तर निमोनिया र रुघाखोकीको लक्षण देखिएको भन्दै सीएमसीले उपचार नै नगरी उनलाई कोरोना विशेष अस्पतालमा रेफर गरिदियो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि गत मंगलबार प्राप्त रिपोर्टमा वीरञ्ज महानगरपालिका-२२ जनन्‍नाथपुरका ३० वर्षीय सन्तोष यादवमा कोरोना नेगेटिभ देखिइयो। भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेड श्रीराम तिवारीले उक्त कुराको पुष्टि गरेका हुन्। 

उनको मृत्युको कारण लुपस भन्‍ने रोग थियो। ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना विशेष अस्पताल लगिएको थियो। चैत १० गते काठमाडौं पठाइएको स्वाब पठाइएको थियो। तर उनले ज्यान गुमाएपछि मात्रै रिपोर्ट नेगेटिभ आयो।

अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको थियो। भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए। सुविधायुक्त अस्पतालमा चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिनुपर्ने बिरामीलाई भर्खरै बेड राखेर खोलिएको अस्थायी अस्पतालमा लगिँदा उनले ज्यान गुमाउनुपर्‍यो। 

केश नम्बर ३ : अर्का युवकले गुमाए ज्यान

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बसरुद्धिन अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा सोमबार एक बिरामीले ज्यान गुमाएका छन्।

कोरोनासँग लक्षण मिलेको भन्दै वीरगञ्‍जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि फिर्ता पठाइएका बाराको कलैयाका २५ वर्षीय विजय कुशवाहको काठमाडौं ल्याउँदै गर्दा बाटैममा ज्यान गएको छ।

नेशनलले भर्ना गर्न नमानेपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दै कुशवाहले बाटैमा प्राण त्यागे। कुशवाहलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरिदिए। उनलाई नेशनलले उपचार गर्न नमानेर टेकु अस्पताल लैजान भनेको थियो।

तर्सिँदै निजी अस्पताल

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सञ्‍चालक दुर्गा प्रसाईले गत शुक्रबार आफ्नो अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि राज्यलाई दिने घोषणा गरे। तर त्यसको केही दिनमै उनको अस्पतालमा ज्वरो आएर उपचारका लागि आएका बिरामीलाई गेटबाटै फिर्ता पठाइयो। 

झापाको अर्जुनधारा-११ निवासी अजित तिवारीका डेढ वर्षीय छोरा अश्‍विनलाई ज्वरोसँगै झाडापखाला लागेपछि बिर्तासिटी अस्पतालको सिफारिसमा पिसियु भएको अस्पाल खोज्दै बिएण्डसी पुगेका थिए। तर त्यहाँ गार्डले अस्पताल परिसरमै छिर्न दिएको गुनासो तिवारीले गरे। 

अहिले ती बालकलाई नोबेल अस्पताल बिराटनगरमा राखिएको छ। नोबेलका सञ्चालक सुनिल शर्माले पनि आफ्नो अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्न सरकारलाई सघाउने बताएका छन्। 

चितवनमा उस्तै 

मेडिकल सिटी चितवनका अधिकांश निजी अस्पतालले कोरोनाका आशंकित बिरामी देखेर डराउन थालेका छन्। कोरोनाको आशंकामा उपचार गर्न चितवन मेडिकल कलेज आइपुगेका बिरामीलाई यही बुधबार फिर्ता गरिएको छ।

भारतबाट फर्किएका ती युवक कोरोनाको आशंकामा छिमेकी र परिवारको साथमा बुधबार मध्यराति सिएमसी पुगेका थिए । करिब आधा घण्टा छलफल गर्दा पनि अस्पताल प्रशासनले बिरामीलाई भर्ना अस्वीकार गरिदियो। एक घण्टासम्म बिरामीलाई एम्बुलेन्समै राखेर आग्रह गर्दा पनि बिरामी भर्ना गर्नै मानिएन। 

भरतपुर अस्पतालमा पनि उपचार नभएपछि कोरोनाको आशंका गरिएका ब्यक्ति पत्‍नीसँऊ ८ घण्टा हिँडे बिहान ८ बजे घरै पुगेका थिए। मेडिकल सिटीका नाममा परिचित भरतपुरमा रुघा र ज्वरो आएका बिरामीले अब उपचार नै पाउन छाडेका छन्। सरकारले अनिवार्य आइसोलेसन वार्ड राख्न भने पनि ज्वरो र रुघाकै बिरामी देखेर निजी अस्पताल तर्सिन थालेका छन्। 

कोरोना आशंका गरिएका बिरामीलाई उनको 'ट्राभल हिस्ट्री' हेरेर फिर्ता गरिएको दाबी अस्पतालका निर्देशक डा. दयाराम लम्सालले पत्रकारहरुसँग गरेका छन्। उनले कोरोनाको आशंका गर्न मिल्ने प्रशस्त लक्ष्ण भेटिएकाले कोरोना विशेष अस्थायी अस्पतालमा रिफर गर्ने गरिएको उनले जिकिर गरे। 

काठमाडौंमा झन् बिजोग

काठमाडौं उपत्यकाका निजी अस्पतालले रुघाखोकीका बिरामीको पनि उपचार अस्वीकार गरेका छन्।  'सामान्य रुघाखोकी बिरामीलाई पनि भर्ना नलिएर रेफर गर्न थालिएको पाएका छौं। त्यहीकारण टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चाप बढेको छ', स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'रुघाखोकीका सबै बिरामीलाई कोरोना लागेको हुँदैन तर निजी अस्पतालहरुले संकटको अवस्थामा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थाले।'

काठमाडौंका अधिकांश अस्पतालले कोरोना आशंकित बिरामीको भर्ना गरी उपचार गर्न अस्वीकार गर्न थालेका छन्।  ग्राण्डीसँग स्पष्टीकरण कोरोना भाइरसका शंकास्पद बिरामीलाई भर्ना लिन नमानेपछि धापासीस्थित ग्राण्डी अस्पतालसँग स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 

दुई साताअघि मन्त्रालयले बिरामी भर्ना गर्न अस्वीकार गर्नुको कारण पेश गर्न भन्दै मन्त्रालयले ग्राण्डीलाई स्पष्टीकरण सोधेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको उपचार र डायलाइसिस मसेत गरेको यो अस्पतालले रुघा लागेका सर्वसाधारणलाई कोरोनाका बिरामी भन्दै भर्ना लिन नमानेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

निजी अस्पतालले कोरोना शंका लागेर आउने बिरामीलाई फिवर क्लिनिकमा जाँचपछि टेकु अस्पतालमै पठाइरहेका छन्।  मन्त्रालयका अनुसार ग्राण्डीसँगै ललितपुरस्थित अल्का अस्पतालले पनि शंकास्पद बिरामी भर्ना गर्न अस्वीकार गरेको उजुरी आइपुगेको छ। 'यसबारेमा हामीले छानबिन गरिरहेका छौं', ती अधिकारीले भने, 'बिरामी भर्ना नलिनुको कारणबारे सम्बन्धित अस्पताललाई स्पष्टीकरण सोध्छौं।' 

ललतपुरस्थित किष्ट अस्पतालले पनि गत सोमबार एकजना बिरामीलाई भर्ना गर्न अस्वीकार गरेको थियो। तर स्वास्थ्य मन्त्रालयकै अधिकारीहरुले हस्तक्षेप गरेर ती बिरामीलाई भर्ना गर्न लगाएको खुलेको छ। किष्ट प्रशासनले कोरोनाका बिरामी भन्दै भर्ना लिन नमानेको खुलेको छ। 

अधिकांश अस्पतालले कोरोनाका बिरामीको उपचारका लागि आइसोलेसन वार्डसमेत बनाएका छैनन्। जसले गर्दा कोरोनाका शंकास्पद बिरामीको एकोहोरो भारत टेकु अस्पतालमाथि परेको छ। 

'उपत्यकाका सबैजसो निजी अस्पतालले रुघाखोकी र निमोनियाका बिरामी आउँदा पनि सिधै यहीँ रेफर गर्न थालेका छन्',  टेकु अस्पतालका एक चिकित्सकले नाम नखुलाउने शर्तमा भने, 'अन्य अवस्थामा बिरामी तानातान गर्न प्रतिस्पर्धा गर्ने निजी अस्पताल अहिलेको संकटमा भने पछि हटिरहेका छन्। कुनै पनि बिरामीलाई भर्ना नलिनु जस्तो गैरजिम्मेवार व्यवहार अरु हुन सक्दैन।' 

मन्त्रालय भन्छ : तयार हुनुपर्छ

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले कोरोनाका नाममा कुनै पनि अस्पतालले बिरामीको उपचारबाट पन्छिन नहुने बताएका छन्। उनले केही दिनअघिको पत्रकार सम्मेलनमा उपचार नगर्ने अस्पतालको अनुगमनका लागि संयन्त्र नै बनाइएको बताए।

'कुनै पनि अस्पतालले बिरामी फर्काउन पाउँदैनन्। कोरोनाको बहानामा उपचार नगरी बिरामी फर्काउने अस्पतालालई कारवाही हुन्छ', उनले भनेका थिए,'यसका लागि मन्त्रालयले अनुगमन संयन्त्र पनि बनाएको छ। उपचारमा आनाकानी गर्नेलाई सरकारले छाड्दैन, त्यसैले सबै अस्पताल यसका लागि तयार हुनुपर्छ।'

नर्भिकले बनायो आइसोलेसन वार्ड 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले १५ शय्याको आइसोलेसन वार्ड बनाइसकेको छ। आफ्नो मुख्य भवन भन्दा अलग्गै १५ शय्याको कोरोना उपचार आइसोलेसन वार्ड बनाइएको जानकारी अध्यक्ष वसन्त चौधरीले दिएका छन्। 

उपचार गर्न चुनौती : थापा 

निजी अस्पतालहरूले कोरोना भाइरसका शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसक्ने जनाएका छन्। निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सुरक्षा सामग्री अभावले कोरोनाका बिरामीलाई उपचार सेवा दिन नसकिने स्पष्टीकरण यसअघि नै दिइसकेका छन्।  

सरकारले निजी अस्पतालहरूलाई छुट्टै फिबर क्लिनिक र आइसोलेसन बेड तयार गर्न निर्देशन दिएको छ। यस्तोमा निजी अस्पतालले उपचार नै गर्न नसकिने बताइरहेका छन्। 

'अस्पतालहरूसँग सुरक्षा सामाग्री छैन, परीक्षण गर्नलाई किट छैन। यस्तो अवस्थामा कोरोना शंकास्पद बिरामीलाई उपचार गर्न सम्भव छैन,' उनले भने। पाले आफू सञ्‍चालक रहेको अल्का अस्पतालमा पनि फिवर क्लिनिक रहेको तर आइसोलेसन बेड नभएकाले उपचारमा समस्या हुने बताएका छन्।  

उनका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट (पीपीई) समेत नहुँदा उपचारमा समस्या हुन्छ। थापाले परीक्षणमा पठाउने किट पनि नभएकाले कोरोनाका बिरामीलाई सेवा दिन नसकिने स्पष्टीकरण दिएका हुन्। 

काठमाडौंबाट सविना खनाल र बुटवलबाट जीवराज चालिसेको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.