|

बैतडी : लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली युवाको बिचल्ली भएको छ। कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएपछि भारत सरकारले लकडाउन घोषणा गरेपछि ४ सय नेपाली नागरिक अलपत्र परेका हुन्। 

अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार ८ कालागाउँका डम्बर बिष्टले जानकारी दिए। उनले बैंगलोरबाट घर फर्किएका बैतडीका ५० जना दिल्लीमा ७ दिनदेखि अलपत्र परेका बताए।

बैंग्लोरबाट रेलमा चढेर घर फर्किदै गर्दा दिल्ली मै लकडाउनले रेलसेवा बन्द भयो' उनले भने,‘लकडाउनले रेलसेवा बन्द हुनुकासाथै सम्पूर्ण सवारी बन्द हुँदा बीच बाटोमै अलपत्र परेका हौं।’ 'लकडाउनले गर्दा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको छ' उनले भने,‘खान र बस्न समेत निकै समस्या भएको छ। पसल बन्द छन्। बाहिर जान सकिएको छैन।’

भारतस्थित नेपाली राजदूतावासमा पनि उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाई नभएको अलपत्र परेको बैतडीको दोगडाकेदारकै बिरेन्द्र विष्टले बताए। 'दूतावासलाई पनि नेपालसम्म पुर्‍याउन आग्रह गरिसक्यौं' उनले भने ,‘अलपत्र परेको ७ दिन भइसक्दासमेत केही पहल भएन।’ 

'नेपाल सरकारले उद्धारको लागि पहल गर्नुपर्छ। हामीलाई सुरक्षित रुपमा नेपाल पुर्‍याउन सहयोग गर्नुपर्छ' अलपत्र अर्का नरेन्द्र जोशीले गुनासो गरे। उनले भने, ‘हामी अर्काको देशमा कहिलेसम्म यसरी बिचल्ली परेर बस्ने। हामी बाच्न चाहन्छौं।’

उनीहरूले आफूहरूको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको  पनि बताएका छन्। अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुग्न समेत पैसा नभएको उनीहरूको गुनासो रहेको छ।

मजदुरी गरेर घरखर्च चलाउन भारत पसेका युवा काम छुटेर अलपत्र परी समस्यामा परेका हुन्। भारतस्थित नेपाली राजदूतावासको पहलमा मात्रै उनीहरूको उद्धार गर्न सम्भव हुने बैतडीका प्रमुख जिल्लाअधिकारी आनन्द पौडेलले बताए। उनले भने, ‘दूतावास हुँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई अनुरोध गर्नुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.