|

सोलुखुम्बु : कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सोलुखुम्बुमा नयाँ विधि अपनाएको छ। यहाँका गाउँपालिकाहरुले विदेशबाट आउनेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छन्। 

यहाँको थुलुङ-दूधकोशी गाउँपालिका लेटोलटोलमा माइकिङ गरिरहेको छ। गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिने व्यक्तिलाई ५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।

अतिविपन्‍न परिवारलाई खाद्यान्‍न राहत प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका स्वास्थ्य  शाखा प्रमुख उद्धव ढुंगानाका अनुसार तीन थान पिपिई, ३ थान गन फर फिवर र केही औषधि रहेका छन्।

यहाँ हालसम्म ३४१ शय्याको क्यारेन्टाइन र ४८ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ।  सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन्।

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाइएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन।

वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभए पनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए। उनका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन्।

विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ।

स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात शय्याको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिई र ३ थान गन फर फिवर रहेका छन्।

११ वटा वडा रहेको नगरपालिकाले सोेमबारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिए। नगरपालिकाको दमकलको प्रयोग गरी विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो।

थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५/१५ शय्या सहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच शय्याको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको उनले जानकारी दिए।नेचासल्यान गाउँपालिकाले १४ शय्याको क्वारेन्टाइन र १३ शय्याको आइसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई  सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नकािलागी सवारी साधन तयारी अवस्थामा राखिएको छ। सो गाउँपालिका १० थान पिपिइ रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामग्री भने पर्याप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ।  

जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ गाउँपालिकामा ५ शय्याको आइसोलेसन र २५ शय्याको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उनको भनाई छ।

वैदेशीक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्‍वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। पाँच वटा वडा रहेको यस गाउँपालिकामा पिपिई र गन फर फिवर नभएको स्वास्थ्य संयोजक आचार्यको भनाई छ। भाइरसको जोखिम कम गर्न टोलटोलमा साबुन पानीको व्यवस्था गर्दै घरदैलो कार्यक्रम जारी राखिएको गाउँपालिकाले जनाएको छ। 

सोताङ गाउँपालिकाले तीन शय्याको क्वारेन्टाइन र चार शय्याको आइसोलेसन वार्ड स्थापना  गरेको गाउँपालिका उपाध्यक्ष  लक्ष्मी कार्की बस्नेतले जानकारी दिए।

स्वास्थ्यकर्मीका लागि पिपिइ र गनफर फिवर समेत नभएको यस गाउँपालिकाले भने अहिले सम्म वैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन भने अन्य सचेतनाका कार्यक्रम समेत अन्य स्थानीय तहको तुलनामा गरेको छैन। यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ।

माप्यदूधकोशी गाउँपालिकाले पाँच शय्याको क्वारेन्टाइन र पाँच शय्या आइसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए। सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामग्री र औषधि समेत नभएको बताइएको छ। 

सोमबार मात्रै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष  राईको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिए। यस्तै ६ वटा वडामा पनि वडास्तरीय समन्वय समिति निर्माण गरिसकिएको बताइएको छ। वडा नम्बर ७ मा मंगलबार समिति गठन हुने गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए। 

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ शय्याको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए। पाँच वडा वडा रहेको यस गाउँपालिकासँग २५ थान पिपिइ, १० थान गन फर फिवर रहेको बताइएको छ।

पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परीक्षणका लागि उपकरण ल्याएको थियो। तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ। 

लिखुपिके गाउँपालिका पाँच वटा वडा रहेको यस गाउँपालिकासँग कुनै पनि स्वास्थ्य उकरण नभएको बताइएको छ। २५ शय्या क्षमताको क्वारेन्टाइन र ८ शय्याको आइसोलेसन कक्ष  तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। 

चारवटा एम्बुलेन्स तयारी अवस्थामा

कोरोना भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पुर्‍याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। सोलुदुधकुण्ड नगरपालिका, केरुङ स्वास्थ्यचौकी, बेनी स्वास्थ्यचौकी र तल्लो सोलु हाइड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.