|

भद्रपुर : कोभिड १९ को त्रासपछि भक्तपुरबाट झापा घर फर्किएका ७१ जना मजदुरलाई होम क्वारेन्टाइन बस्न निर्देशन दिइएको छ। भक्तपुरको नयाँ ठिमी र दक्षिण बारही इँटा उद्योगमा काम गरेर घर फर्किएका भद्रपुरका विभिन्न वडाका महिला, पुरुष तथा बालबालिका गरी ७१ लाई होम क्वारेन्टाइनमा बस्न प्रहरी कार्यालय झापा र भद्रपुर नगरपालिका संयुक्त रूपमा निर्देशन दिएका छन्।

भक्तपुर प्रहरीकै समन्वयमा बस चढेर उनीहरू भद्रपुर ९ स्थित घोडामारामा मंगलबार बिहान आइपुगेका थिए। उनीहरू भद्रपुर ५, ८, ९ र १० का स्थायी बासिन्दा हुन्। उनीहरू भेला भएकै ठाउँमा पुगेर भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालासहितको जनप्रतिनिधिको टोलीले कोरोना भाइरसको बारेमा जानकारी गराउँदै होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएका थिए।

नगरपालिकाका स्वास्थ्यकर्मीले सबैको थर्मल गन प्रयोग गरेर ज्वरो जाँच समेत गरेका थिए। मास्क विना आएका उनीहरूलाई प्रहरी नायव उपरीक्षक कोइरालाले मास्क वितरण गर्नुका साथै तीन फिट दूरी कायम गरी बस्न सबैलाई आग्रह गरेका थिए। 

नगरपालिका प्रमुख श्रेष्ठले कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले होम क्वारेन्टाइनमा बस्न नमान्ने मजदुरलाई पुन भक्तपुर पठाइ दिने चेतावनी दिए।  उनले भने, ‘सबै मजदुरको सम्पर्क नम्बरसहितको विवरण सुरक्षित राखेका छौं। मजदुरले होम क्वारेन्टाइनको पालना गर्नुपर्ने हुन्छ। क्वारेन्टाइनको पालना नगरेको खण्डमा सोजै नियन्त्रणमा लिएर १४ दिनका लागि अस्थायी क्वारेन्टाइनमा पठाइ दिन्छौं।’

‘नगरमा कोरोनाविरुद्ध स्थानीय तह लागि परेकोले सरकारको निर्देशन पालना गर्ने गरिब तथा धनी कसैलाई छुट हुने छैन,’ उनले भने’ घर फर्किएका मजदुर गत कार्तिक २० गते भक्तपुर इँटा उद्योगमा काम गर्न गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.