|

केशव अधिकारी

धादिङ : वैदेशिक रोजगारी तथा अन्य कामका लागि भारत साथै तेश्रो मुलुक गएर हालसालै गाउँ फर्किएकाहरुको खोजीमा धादिङका स्थानीय तह जुटेका छन्। जिल्लाको १३ मध्ये ६ वटा स्थानीय तहले विदेशबाट गाउँमा आएकाहरुको विवरण सार्वजनिक गरिसकेका छन्। 

केही दिनयता विदेशबाट गाउँ आएकामार्फत कोरोना भाइरस संक्रमण घर परिवार हुंदै समाजमा नफैलियोस भन्नका लागि स्थानीय तहले टोल टोलमा पुगेर सचेतनाका लागि आग्रहसमेत गरिरहेका छन्। एक जनाको असावधानीले सिंगो समाज र देशमै नोक्सानी पुग्ने भएकाले दुई सातायता भारत तथा तेश्रो मुलुकबाट गाउँ आएकाहरुलाई भेट्दै अनिवार्य होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्य बताउँछन्। 

कोरोना संक्रमण देखिएपछि नेत्रावतीका एक युवालाई अहिले टेकुको आइसोलेसनमा राखिएको छ। ११ जना गाउँकै क्वारेनटाइनमा बस्दै आएका छन् भने कतारबाट आएका एक जनासहित ३ जना र सुनौलीबाट आएका ४ जनालाई धादिङबेंसीस्थित क्वारेनटाइनमा राखिएको छ।

हालसम्म जिल्लाको त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, गंगाजमुना, थाँक्रे र धुनिबेंसी नगरपालिकाले विदेशबाट चैत्र महिनामा आएकाको लगत सकंलन गरी सार्वजनिक गरेका छन्। जस अनुसार गंगाजमुना गाउँपालिकामा २८, त्रिपुरासुन्दरीमा ४८, बेनिघाट रोराङमा ३२, धुनिबेंसीमा १८, नेत्रावती डवजोङमा ७४ र थांक्रे गाउँपालिकामा १४ जना भेटिएका छन्। 

लगत संकलनसँगै जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिँदै आवश्यकताअनुसार होम क्‍वारेन्टाइन वा पालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा बस्न अनुरोध गर्दै आएका छन्। 

गृह मन्त्रालयले भारतलगाायत अन्य मूलुकबाट चैत्र महिनामा नेपाल आएकाहरुलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न र १४ दिनसम्म क्‍वारेन्टाइनमा बस्न निर्देशन दिएकाले विदेशबाट आएकाहरु आफैं पनि सम्पर्कमा आउन थालेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बताए। सम्पर्कमा नआएका व्यक्तिहरुलाई खोजेर सम्झाइबुझाई स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसारै राख्नुपर्ने भए सोहीअनुसार बस्न लगाइएको पनि अध्यक्ष थापाले बताए।  

जिल्लाका अन्य गाउँपालिकामा पनि चैतपछि विदेशबाट घर फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको अवस्था सार्वजनिक गर्न निर्देशन दिइसकेको धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.