|

डोल्पा : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकासमन्त्री दल रावल सेनाको हेलिकप्टरबाट डोल्पा पुगेका हुन्। संघीय सरकारले खरिद गरेर पठाएको औषधि र उपकरण सबैभन्दा पहिला डोल्पा अस्पतालमा पुर्‍याइएको हो।

शाही र रावलले आफ्नै हातबाट सदरमुकाम दुनेस्थित जिल्ला अस्पताल अस्पताल पुगेर औषधि र उपरकण हस्तान्तरण गरेका छन्। हेलिकोप्टरमा ल्याइएको सर्जिकल मास्क २ हजार, पिपिई ६० थान, लुज ग्लोब्स एक हजार ९५ लगायत पारा सिटामोल स्वास्थ्य सामग्री  स्वास्थ्य सेवा कार्यालयले बुझेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देबहादुर बिसीले जानकारी दिए।

आइसोलसनका दुई बिरामीको स्वाब सुर्खेत पठाइयो

आइसोलेसनमा राखिएका दुई जना बिरामीको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत दुई जना कर्मचारीको स्वाब हेलिकप्टरमार्फत सुर्खेत लगिएको र केही दिनमा रिपोर्ट आउने जिल्ला अस्पतालका डाक्टर सिजन रावलले जानकारी दिए। करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुसँग बसेका मुख्यमन्त्री शाही र मन्त्री रावलले अस्पतालको निरीक्षणसमेत गरेका थिए। 

सोमबार आइसोलसनमा राखिएका बिरामीलाई भेटेका उनीहरुले आइसोलेसनको अवस्था लाजमर्दो भएकाले घर भाडामा लिएर ३० शैयाको आइसोलेसन निर्माण गर्न निर्देशन दिएका थिए। ‘यतिखेर काम गर्ने बेला हो, पैसा छैन भनेर टार्न पाइँदैन, प्रदेश सरकारले ५० लाख जिल्ला प्रशासन र २५ लाख जिल्ला अस्पतालमा पठाएको छ खर्च गर्नुस्, नपुगे सरकारले दिन्छ’, मुख्यमन्त्री शाहीले भने। मुख्यमन्त्री शाहीले प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायलाई गम्भीर भएका काम लाग्न निर्देशन दिँदै भने, ‘काम नगर्ने कर्मचारीको विकल्प खोजिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.