|
फाइल फोटो

युवराज विष्ट (भोजपुर) : विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न भोजपुरमा पनि उच्च सर्तकता अपनाइएको छ। जिल्लाका नौ वटा स्थानीय तहमा कूल २१८ शय्या क्षमताका क्वारेन्टाइन तयार पारिएको छ।

भोजपुर नगरपालिकामा १०० शय्या, षडानन्द नगरपालिकामा १० शय्या, साल्पासिलिछो गाउँपालिकामा २० शय्या, हतुवागढी गाउँपालिकामा पाँच शय्या, रामप्रसादराई गाउँपालिकामा ५० शय्या, अरुण गाउँपालिकामा ३० शय्या र आमचोक गाउँपालिकामा पाँच शय्या गरी कूल २१८ शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो।

त्यस्तै जिल्ला अस्पतालमा दुई, अरुण गाउँपालिकामा पाँच र रामप्रसादराई गाउँपालिकामा दुई गरी नौवटा 'आइसोलेशन' कक्ष तयार पारिएको छ। जिल्लाभर ६७ वटा सहायता कक्ष (हेल्थ डेस्क) निर्माण गरिएको छ।

भोजपुरमा तयार गरिएका क्वारेन्टाइनमा यतिखेर दुईजनालाई राखिएको छ। षडानन्द नगरपालिकामा विदेशबाट आएका स्थानीयलाई क्वारेन्टाइनमा राखिएको हो। क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले जानकारी दिएका छन्‌।

अरुण गाउँपालिकामा होम क्वारेन्टाइनमा रहेका एक जनालाई भने ज्वरो बढेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। चैत्र ४ गते कतारबाट आएका ती ब्यक्ती होम क्वारेन्टाइनमा रहेको थिए। उनलाई ज्वरो बढेपछि गाउँपालिकाले उपचारको लागि १५ गते धरान पठाएको हो।

सरकारले जारी गरेको 'लकडाउन'लाई जिल्लामा कडाइका साथ कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ। जिल्लामा सवारी साधन भित्रिने नाका धनकुटा र भोजपुरको सिमाना लेगुवाघाट, संखुवासभा र भोजपुरको सिमाना सतीघाट, भोजपुर र खोटाङको सिमाना चखेवाभञ्याङ, जिल्लालाई दक्षिणी क्षेत्रबाट उदयपुरसँग जोडने रानीटार लगायत सम्पूर्ण नाकाहरू बन्द गरिएको छ।

सदरमुकामका अत्यावश्यक बाहेका सबै पसलहरू बन्द गरिएकाले बजार तथा चोकहरू सुनसानप्राय: रहेका छन्। विद्यालयहरू, सरकारी एवम्‌ गैरसरकारी कार्यालयहरू बन्द छन्‌। सार्वजनिक स्थानहरूमा मानिसहरूको भीडभाड निकै पातलो देखिन्छ। स्थानीयलाई आवश्यक पर्ने ग्याँस, तेल र खाद्यान्न लगायत उपभोग्य वस्तुहरू आयात तथा निर्यात भइरहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

प्रजिअ पुरीले भने,‘जिल्लामा कोरोनाको संक्रमण रोक्नेको लागि उच्च सर्तकता अपनाइएको छ, जिल्लामा मानिसहरू भित्रिने सम्पूर्ण नाकाहरूमा कडाई गरिएको छ, स्थानीयलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री कमी हुन दिइएको छैन।’स्थानीयलाई घरमै बसेर सरकारले जारी गरेको लकडाउनको अवस्थालाई सहयोग गर्न प्रजिअ पुरीले आग्रह गरेका छन्‌। स्थानीयको आधारभूत आवश्यकताको विषयमा प्रशासन गम्भीर रहेको र जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए।

अन्य जिल्लाबाट आएका मानिसहरूमाथि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए। उनले भने, 'जिल्लामा सुरक्षा व्यवस्था राम्रो बनाइएको छ, संक्रमण फैलिन नदिन अन्य जिल्लाबाट आएका मानिसहरूमाथि उच्च निगरानी राखिएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.