प्रत्येक गाउँपालिकामा ५० बेडको क्‍वारेन्टाइन

|

म्याग्दी :  कोरोना भाइरस रोकथामका लागि उपचारमा खटिने म्याग्दीका स्वास्थ्यकर्मीलाई सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पठाउन ढिलाइ गरेपछि जिल्लाका ६ वटै स्थानीय तहले आफैंले पिपिई खरिद गरेका छन्। जिल्ला अस्पताल विकास समितिको पहलमा स्थानीय तहहरुले आफ्नै खर्चमा पिपिई खरिद गरेका हुन्। 

अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार बेनी नगरपालिकाले १५, रघुगंगा गाउँपालिकाले १७, मालिका गाउँपालिकाले १४, अन्नपूर्ण गाउँपालिकाले ९ र धौलागिरि गाउँपालिकाले ८ थान पिपिई प्राप्त गरेका छन्।

बेनी अस्पतालमा ५५ थान पिपिई उपलब्ध गराइएको छ। अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरु गरी १ सय १० जना रहेका छन्। अझै ६० थान पिपिईको आवश्यक रहेको र केही दिनभित्रमा ती सबैलाई उपलव्ध गराइने अध्यक्ष कटुवालले बताए ।

अस्पतालमा १० बेडको आइसोलेसन

त्यसैगरी बेनी अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ। कोरोनाका सम्भावित बिरामीहरुलाई मध्यनजर गर्दै आइसोलेसनको संख्या बढाइएको अस्पताल विकास समितिको भनाइ छ। 

यसअघि म्याग्दीमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको थियो। सो आइसोलेसनमा मंगलबार बिहानसम्म १ जनालाई राखिएको छ। उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।

प्रत्येक गाउँपालिकामा ५० बेडको क्‍वारेन्टाइन

त्यस्तै म्याग्दीको ५ वटै गाउँपालिकामा ५०/५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेनटाइन निर्माण गर्न निर्देशन दिइएको छ। कोरोना रोकथामको लागि जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत गठित कमान्ड पोस्टको सोमबार बसेको बैठकले कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गर्न जिल्लामा रहेका स्थानीय तहहरुलाई निर्देशन दिने निर्णय गरेको हो।

बैठकले ५ वटै गाउँपालिकामा तत्काल ५० बेड क्षमता बनाउन र १ सय क्षमताको तयारी गर्न अनुरोध गरेको छ भने बेनी नगरपालिकामा २ सय बेड क्षमताको क्वारेनटाइन बनाउने निर्णय गरेको कमान्ड पोस्टका सदस्य समेत रहेका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए। त्यसैगरी बैठकले जिल्लामा स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समेत मगाउने निर्णय गरेको छ। 

जिल्लामा खाद्यसंकट हुन नदिनको लागि खाद्य व्यवस्थापन योजना तयारी गर्न चैत १९ गते जिल्लामा रहेका स्थानीय तहका प्रमुख र उप्रमुखसहित म्याग्दी उद्योग वाणिज्य संघ समेतको बैठक बस्ने जनाइएको छ। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा गठन गरिएको समितिले आवश्यक तयारी गर्ने जनाइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.