स्थानीय तहमार्फत बेसारदेखि मसला र चामल पनि दिइने

|

पर्वत : कोरोना भाइरस संक्रमणका कारण देशै लक डाउन गरिएपछि दैनिक ज्यालादारीमा काम गरेर जीवन धान्दै आएका मजदुरहरू समस्यामा परेका छन्। 

यसैबीच त्यस्ता दैनिक ज्यालादारी गर्ने मजुदुरलाई गण्डकी प्रदेश सरकारले जिन्सी सहयोग गर्ने भएको छ। प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्पmत जिन्सी राहत उपलब्ध गराउने गरी ६ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार पोखरा महानगरपालिकालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ भने प्रदेशका ११ जिल्लामा रहेका २६ वटा नगरपालिकाहरूलाई प्रति नगरपालिका १० लाख रुपैयाँ र ५८ वटा गाउँपालिकाहरूका लागि प्रतिगाउँपालिका ५ लाख रुपैयाँका दरले बजेट छुट्ट्याइएको छ। राहत पाउन योग्य हुने मजदुरहरूको पहिचान गरी उनीहरूको तथ्यांक तयार पार्ने काम स्थानीय तहहरूले गर्ने छन्।

जिन्सी राहत वितरण गर्दा स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने पनि गण्डकी प्रदेश सरकारले जानकारी दिएको छ। नागरिकमा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन जिन्सी राहत सामग्रीमा विभिन्न खाद्य वस्तु समावेश गरिएको छ। जसमा राम्रो खालको जिरा स्टिम चामल, सनफ्लावर तेल, आटा, अरहर, मुसुरो र मासको दाल, चिनी, नुन, चिउरा, चियापत्ती, मसला, बेसार, चाउचाउ र चना रहेका छन्।

बजारमा खाद्य वस्तुको अभाव तथा खाद्य वस्तुको मूल्य वृद्धि हुन नदिन र नागरिकहरूको सहज प्याकेजअनुसार सामान घरमै पाउने व्यवस्था मिलाउन सरकारले यस्तो निर्णय गरेको हो। राहत सामग्रीहरूको वितरण गर्न स्रोतको खोजी गरी अति विपन्‍न, गरिब, श्रमजीवी, अपा‌ग, वयोवृद्ध, एकल व्यक्तिलगायत छनोट गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.