खोटाङ : खोटाङमा ‘लकडाउन’को समयमा कालोबजारी गर्ने एक जना व्यापारी कारबाहीमा परेका छन्।
‘लकडाउन’को वहाना बनाई दैनिक उपभोग्य वस्तुको मुल्य बढाएर बिक्री गर्ने रावाबेँसी गाउँपालिका–६ हौंचुरका खुद्रा व्यापारी दिपेन्द्र चौधारी कारबाहीमा परेका हुन्।
सिराहा घर भै हाल रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालय नजिकै उपाभोग्य सामग्रीको पसल सञ्चालन गर्दै आएका चौधरीलाई सार्वजनिक माफी मगाउँदै ठगेको बढी रकम सम्वन्धित ग्राहकलाई नै फिर्ता गराइएको हो।
दाल, चामल, चिनी, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि गरेर कालोबजारी गरिरहेको गुनासो आएपछि चौधरीलाई वडा कार्यालयले कारबाही गरेको वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कारबाहीस्वरूप चौधरीलाई नजिकैको स्वास्थ्यचौकीमा केही थान प्लास्टिकका कुर्सी-टेबल उपलब्ध गराउनुपर्ने सजाय दिइएको छ।
चौधरीले प्रतिपोका ८५ रुपैयाँ पर्ने खाने तेल ९५ रुपैयाँ, प्रतिकेजी ८५ रुपैयाँ पर्ने चिनी ९५ रुपैयाँ, प्रतिबोरा १ हजार ३ सय पर्ने चामल १ हजार ३ सय ८० रुपैयाँ, प्रतिकेजी ३० रुपैयाँ पर्ने आयोडिन नुन ५० रुपैयाँ र प्रतिबोरा ८०० पर्ने ढिके नुन एक हजारमा बिक्री गरेको पुष्टी भएपछि कारबाही गरिएको हो।
आगामी दिनमा मूल्य बृद्धि गरेर सामान बिक्री गरेको पाइएमा पसल शिलबन्दी गर्ने कागज गराइएको छ। 'लकडाउन’को समयमा कालोबजारी गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयलमा मौखिक उजुरी गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।