|

जुम्ला : आठवटा स्थानीय तह रहेको जुम्लामा २४२ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। भारत तथा अन्य मुलुकबाट आएकाहरुलाई निगरानीमा राख्न क्वारन्टाइन निर्माण गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा ३०, हिमा गाउँपालिकामा ३२ र पातारासी गाउँपालिकामा १० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ।

यस्तै, गुठीचौरमा ६, तिलामा ५३, कनकासुन्दरीमा २०, तातोपानीमा ५० र सिँजा गाउँपालिकामा चार गरी जिल्लाभर जम्मा २४२ क्वारेन्टाइन निर्माण गरिएको हो। 

हिमा गाउँपालिकाको क्वारेन्टाइनमा ३२ जना, पातारासीमा एक बच्चासहित नौ, गुठीचौरमा एक, र तिला गाउँपालिकामा  १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। यस्तै, कनकासुन्दरीमा पाँच, तातोपानीमा दुईजनालाई क्वारेन्टाइनमा राखिएको छ। सिँजाका १२ जना गाउँपालिकाको क्वारेन्टाइन र तीनजना होम क्वारेन्टाइनमा बसेका छन्। चन्दननाथ नगरपालिकाको क्वारेन्टाइनमा भने अहिलेसम्म एकजना पनि बसेका छैनन्। जिल्लाभर ४२ जना होम क्वारेन्टाइनमा छन्। 

तीन हजारभन्दा बढीको स्वास्थ्य जाँच

जुम्लामा बाहिरबाट आएका तीन हजार ८७९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार जुम्लाबाट १५ जना विदेशी फिर्ता गरिएको छ भने ११ जना महिला ६० जना पुरुष क्वारेन्टाइनमा छन्।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२० शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको छ। उक्त आइसोलेसनमा दुईजनाको उपचार भइरहेको छ। यस्तै, बाहिरबाट आएका  चार.जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

जुम्लामा अहिलेसम्म भारतबाट ३७१ जना भित्रिएका छन्। अन्य मुलुकबाट २३ जना भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रत्येक स्थानीय तहमा सवारीसाधन तयारी अवस्थामा राखिएका छन्। बिरामी भेटिने बित्तिकै सिँधै अस्पताल ल्याउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.