|

बारा : निजगढ नगरपालिका–८ खयरघारीस्थित बकैया ठाकुर आधारभूत विद्यालयको चौरमा १५० वटा पोका सजाएर राखिएको छ। हेर्दै आकर्षक लाग्ने गरी चौरभरि छुट्टाछुट्टै पोकाको सबैभन्दा मुनि चामलको बोरा छ। त्यसमाथि दाल, तेल, नुन र साबुनका प्याकेट राखिएको छ।

विद्यालयको प्रवेशद्वारबाट छिर्नेबित्तिकै पश्चितर्फ खानेपानीको धारो छ, धारोमा हात धुन साबुन राखिएको छ। त्यसभन्दा पछि ग्लप्स राखिएका छन्। 

कोरोना भाइरसको जोखिमलाई ख्याल गरेर अपनाइएको सतर्कर्ता हो। निजगढ–८ को एकमात्र सामुदायिक वन बकैया नागमणि सामुदायिक वन समूहले आफ्ना विपन्न परिवारका उपभोक्तालाई खाद्य सामग्री वितरण गर्न अपनाएको मोडल हो। समूहमा आवद्ध उपभोक्ताको आर्थिक अवस्थाका आधारमा वर्गीकरण गरिएको छ। समूहले वर्गीकरण गरेको चारवटा वर्गमध्ये घ वर्गमा उपभोक्ता विपन्न अवस्थाका छन्।

कोरोनाको संक्रमण फैलिन नपाओस् भनेर सरकारले लकडाउन गरेको छ। यस्तो अवस्थामा ज्याला मजदुरी गरेर छाक टार्दै आएका उपभोक्तालाई भोको पेट बस्न नपरोस् भनी समूहले खाद्य सामग्री वितरण गर्न सुरु गरेको बकैया नागमणि सामुदायिक वन समूहका अध्यक्ष रविराज दंगाल बताउँछन्। 

 ‘समूहको आम्दानीको ३५ प्रतिशत विपन्न उपभोक्तालाई खर्च गर्नुपर्ने विधानमा व्यवस्था गरेको छ,’ अध्यक्ष दंगालले भने, ‘घरबाट निस्केर काममा जान नपाउँदा समस्यामा परेका उपभोक्तालाई खाद्यान्न सहयोग गरिएको छ।’

घरमै टोकनसहितको चिट्ठी

खाद्यन्न वितरणलाई संक्रमणबाट जोगाउन समूहले नमुना विधि अपनाएको छ। उपभोक्ताको घर–घरमै अघिल्लो दिन नै टोकन स्वरुप चिट्ठी पठाइएको थियो। 

भिडभाड नहोस् भनेर चिट्ठीमा खाद्यन्न लिन आउने समय नै फरक–फरक राखेर पठाइएकाले भिडभाड विनै खाद्यन्न वितरण भएको स्थानीय शालिकराम ढुंगानाले बताए।

विद्यालयसम्म प्रवेश गर्ने र निस्कने दुईवटा ढोका प्रयोग गरिएको थियो। सडकमा सामाजिक दूरी कायम गर्न चुनाले गोलो पारेर राखिएको थियो। पाँच फिटको दूरीमा बनाइएको गोलोमा पालैपालो सरेर त्यहाँ पुग्न सकिन्थ्यो। समूहका सदस्य सुदर्शन दंगालले गोलो घेराका कारण भिडभाडविना नै सहज रुपमा वितरण भएको बताए।

हात धाएर पस्ने

खाद्यन्न लिन आउनेलाई मास्क अनिवार्य गरिएको थियो। वितरण गरिने स्थलमा पुगेपछि साबुन पानीले हात मिचिमिचि धुने व्यवस्था मिलाइएको थियो। हात धोएपछि एक पटकमा तीनजना फरक–फरक गोलो घेरामा उभिएर भरपाई भर्ने ठाउँमा पुग्छन्। 

परिचयपत्र र कुपन बुझाएपछि भरपाई गराइन्छ। समूहले हातमा लगाउन ग्लप्सको व्यवस्था गरेको छ। हातमा ग्लप्स लगाएर घेरोभित्रैबाट चौरमा राखिएको खाद्य सामग्री बोकेर उपभोक्ता उत्तर ढोकाबाट बाहिर निस्कन्छन्। सामान उठाउन समस्या परे समूहका सदस्यले सहयोग गर्छन्। दूरी कायम गरेर समूहका सदस्य मिनराज खनिया, कर्मचारी दिपक पन्त ढोकादेखि सडकसम्म खटिएका थिए।

हस्तान्तर गर्दा फोटो खिचिदैन

राहतको नाममा फोटो खिच्ने फेसन चलेको छ। तर यहाँ कसैले सामान हस्तान्तरण गर्दैनन्, आफैंले बोकेर लाने भएपछि फोटो खिचाउन पोज दिइरहनु परेन्। यहाँ न राहत लिनेको भिडभाड छ, न दिनेको नै फोटो खिचाउन प्रतिस्पर्धा देखिन्छ।

खाद्यन्न वितरणलाई व्यवस्थित बनाउन समूहले अपनाएको शैली नमुना भएको वडाध्यक्ष टेकबहादुर लामाले बताए। बकैया ठाकुर आधारभूत विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले व्यवस्थित तरिकाले लकडाउनले समस्यामा परेको बेलाका उपभोक्तालाई गरेको सहयोगले राहत मिलेको बताए।

घ वर्गका दुई सय उपभोक्तालाई प्रति उपभोक्तालाई एक हजार ५० रुपैयाका बराबरको खाद्यन्न सहयोग गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.