|

काठमाडौं : कोरोना संक्रमणपछि उपचाररत बाग्लुङकी युवतीका परिवारका सदस्यको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ। कोरोनाभाइरसबाट पाँचौ कोरोना संक्रमित २२ वर्षीया ती युवतीको परिवार र उनी नजिक पुगेका १० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती युवती धौलागिरि अञ्‍चल अस्पताल बागलुङमा उपचाररत छिन्। उनको स्वास्थ्यमा पनि सुधार आएको छ। अस्पताल स्रोतका अनुसार, उनमा रहेको खोकी कम हुँदै गएको छ। आइतबारदेखि ज्वरो पनि आएको छैन। 

आइसोलेसनमा बसेदेखि नै कम खाना खाइरहेकी उनले सोमबार राम्रोसँग खाना खाएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्टेडेट डा शैलेन्द्र बिक पोखरेलले बताएका छन्। 

‘मनोपरामर्शको खाँचो महसुस गरेर हामी सोहीअनुसारको काउन्सिलिङ गरिरहेका छौं’ डा पोखरेलले भने, ‘उहाँको स्वास्थ्यमा आएको सुधारले हामी उत्साहित भएका छौं।’ स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.