|

बर्दिया : कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा बर्दियामा अहिलेसम्म गरिएको तीन जनाको नमुना परीक्षणमा तीन जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। दुइजना आइसुलेसन र एक जना क्वारेन्टाइनमा बसेकाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो। 

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने अहिले तीन जनाको रिपोर्ट आइसकेको छ बताए। उनलेभने,' तीनै जनाको नेगेटिभ रिपोर्ट आएको छ। कताबरबाट आएका एक जनाको रिपोर्ट आउन ढिलो भएको थियो। त्यो पनि अहिले आयो। सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।' 

सदरमुकाम गुलरियाको क्वारेन्टाइनमा रहेका मध्ये उच्च ज्वरो आएका २ जना र कतारबाट आएकी संक्रमित महिलासँगै आएका बाँसगढीको क्वारेन्टाइनमा राखिएका एक जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो।

बर्दियामा रहेका ८ स्थानीय तहका विभिन्न २५ ठाउँमा क्वारेन्टाइनस्थल निर्माण गरिएको छ भने २५ ठाउँमा ४४९ बेड संख्या रहेको छ। बर्दियामा अहिलेसम्म ८ वटा स्थानीय तहका विभिन्न २५ ठाउँमा ३४८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश ५ मा बर्दिया सबैभन्दा धेरै क्वारेन्टाइनस्थल बनाइएको र सबैभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको दाबी छ।

कोरोना भाइरस संक्रमण फैलिन सक्ने बर्दिया जिल्ला उच्च जोखिममा रहेको छ। त्यसैले उच्च सर्तकता अपनाइएको छ। तर हालसम्म स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री बर्दिया आइसकेको छैन। सामग्री अभावका कारण पनि स्वास्थ्य परीक्षणमा समस्या बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.