|

काठमाडौं :  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। 

कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका  कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु जाने अवस्था नरहेको हुनाले घरमै श्रद्धा पूर्वक रामको पूजा गरेर मनाउँदै छन्। 

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।  विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। 

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेका बताउँछन्। 

 श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना  गर्ने परम्परा छ। 

“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुशरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”– उनले भने । 

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । 

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.