|

एजेन्सी : संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा कोरोना भाइरसबाट एकजना छ हप्ते शिशुको मृत्यु भएको छ। उक्त कुराको पुष्टि राज्यका गभर्नर नेड ल्यामोन्टले गेका छन्।

गभर्नर ल्यामोन्टले कोरोना भाइरसका कारण राज्यमा पहिलो पटक एकजना शिशुको मृत्यु भएको जानकारी दिएका हुन्।

'यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं', बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भनेका छन्, 'तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ।'

स्वास्थ्य परीक्षण गर्दा ती शिशुमा कोभिड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए। कोभिड-१९ का कारण यति कम उमेरका शिशुको मृत्यु भएको संभवत पहिलो घटना भएको गभर्नर ल्यामोन्टले बताए।

कनेक्टिकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन्। हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टि गरेका छन्।

कनेक्टिकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ८५ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.