|

मुगु : जिल्लाका सरकारी स्वास्थ्यस‌ंस्था कार्यरत स्वास्थ्यमकर्मीहरूले बिरामीको उपचारका क्रममा बाहिरी संक्रमणबाट जोगिन स्थानीयतहमा तयार गरिएका प्लाष्टिकका एप्रोन प्रयोग गरिरहेका छन्‌। व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नपाएपछि उनीहरूले प्लाष्टिकको एप्रोन प्रयोग गर्न थालेका हुन्‌। 

'मानिसहरू दिनहुँ स्वास्थ्यचौकी एवम्‌ हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गर्न आउँछन्, पन्जा र मास्कको भरमा उनीहरूलाई चेकजाँच गर्नुपर्छ, हामी आफैंसँग सुरक्षाका सामग्री छैनन्‌,' खत्याड गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक हरिबहादुर बुढाले भने, 'स्वास्थ्यकर्मीलाई नै संक्रमण भइहाले के गर्ने? त्यसैले स्वास्थ्य सामग्री आउँदै गर्लान्, त्यतिबेलासम्म स्वास्थ्यकर्मीमा बाहिरबाट संक्रमण नहोस् भनेर स्थानीयस्तरमै बनाइएका प्लाष्टिकका एप्रोन लगाएर चेकजाँच बिरामीको चेकजाँच गरिरहेका छौं।' 

मुगुम कार्मारोङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पनि कहिँ-कतैबाट स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई उपलब्ध नभएपछि प्लाष्टिककै एप्रोन बनाएर कोरोना तथा अन्य रोगको चेकजाँच गरिरहेका छन्‌। जिल्लाकै एक मात्र अस्पतालले पनि स्वास्थ्यकर्मीको मापदण्ड अनुसारका पीपीई सामग्री कतैबाट उपलब्ध नभएपछि करिव ४०० वटा प्लाष्टिकका एप्रोन बनाएर चिकित्सक र अन्य स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गर्दै आएको अस्पताल स्रोतले जानकारी दिएको छ। प्लास्टिकका एप्रोन कारखानाले बनाउने पीपीईजस्तो नभए पनि संक्रमण रोकथामका लागि पहिरिनुपरेको चिकित्सकहरू बताउँछन्‌। 

पीपीई उपलब्ध नभएपछि प्लाष्टिकका एप्रोन बनाएर स्वास्थ्यकर्मी प्रयोग गर्न बाध्य भएको र जिल्लामा पर्याप्त मात्रामा औषधि नभएको जानकारी गराएपछि मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावत हेलिकोप्टरमार्फत पीपीई र अन्य केही औषधि लिई मुगु पुगेका थिए। सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीका लागि चाहिने सामग्री सर्जिकल गाउन ८५, मास्क ३ हजार, डिस्पोजल ग्लोब्स १८ सय, एन ९५ माक्स २५ पिस, इन्फोथर्ममिटर १, हइान्डमेड गाउन ५०, भाइजर ५०, गगल्स चस्मा ५, सेनिटाइजर १०० एमएल १ बोतल र पम्पलेट ३ ठेली जिल्ला अस्पताललाई हस्तान्तण गरिएको छ।

जिल्लाभरका स्वास्थ्यकर्मीहरूका लागि यी चिकित्सकीय सामग्रीले नपुग्ने बताइएको छ। अहिले स्वास्थ्यकर्मीका लागि उपलब्ध गराएका सामग्री जिल्ला अस्पतालका लागि मात्र हो। 

मुगुमा १६७ वटा क्वारेन्टाइन वेड तयार

मुगु कोरोनाको संक्रमणबाट जनतालाई जोगाउन यहाँका स्थानीय तहहरूले कोरोना विरुद्धका काममा तीव्रता दिएका छन्। अहिलेसम्म जिल्लामा कसैलाई कोरोना संक्रमण नदखिए पनि भविष्यमा कसैलाई देखा परेमा वा बाहिरबाट कोही व्यक्ति आए पूर्व तयारीस्वरुप उनीहरूलाई  १४ दिनसम्म राख्नका लागि जिल्लाका चारवटै स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था मिलाएका छन्।

जिल्ल्लाभरका स्थानीय तहहरूले आजसम्म १६७ वटा क्वारेन्टाइन वेड तयारी अवस्थामा राखेका छन्। कोही कसैलाई संक्रमण देखिहाले वा शंकास्पद लक्षण देखिएमा तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगुमा सात शय्या रहेको आइसोलेसन बेड तयार पारिएको छ। स्थानीय तहहरूले आ-आफ्नो पायक पर्ने स्थानमा आइसोलेसन वेड निर्माण गर्ने तयारी गरिरहेको पनि सहायक प्रजिअ घिमिरेले बताए। उनका अनुसार हाल खत्याडमा ३ जना र तारापानीमा २ जना भारतबाट आएका नेपाली क्वारेन्टाइनमा बसेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्टका सदस्य सचिव केशव ज्ञवालीका अनुसार छायाँनाथ रारा नगरपालिकाले महाकाली माध्यामिक विद्यालयमा २१, जिल्ला अस्पातालले ३५, खत्याड गाउँपालिकाले झुगलामा ३५, सोरु गाउँपालिकाले तारापानीमा १० र मुगुम कार्मारोङ गाउँपालिकाले छाइल विद्यालय ३० र रिउस बगरमा रहेको सामुदायिक अस्पतालमा गरी ३० शय्याका क्वारेन्टाइन बेड तयार गरिएको छ।

भारतबाट आएका अन्य स्थानीयको खोजी गरी उनीहरूलाई पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र अहिले स्थानीय तहहरूले आफ्ना क्षेत्रहरूमा भारतबाट आएका स्थानीयहरूको खोजी र तथ्यांक संकलन गर्ने कार्य गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.