|

उदयपुर :  उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउनबाट प्रभावित विपन्न १२२ घर–परिवारहरुलाई राहत वितरण गरेको छ। लकडाउनले दैनिक ज्यालादारी गरेर खाने मजदुरका परिवारलाई समस्या परेको भन्दै नगरपालिकाले वडा नम्बर २ का १२२ घरधुरीलाई राहत सामग्री वितरण गरेको हो।

त्रियुगा नगरपालिकाको वडा नं. २ मोथियाही टोलका सदा समुदायका विपन्न वर्गलाई नुन, तेल, दाल र चामल वितरण गरेको वडा अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए।

‘टोल विकास संस्था र जनप्रतिनिधीहरुले स्थलगत रुपमा संकलन गरेका व्यक्तिहरुलाई राहत दिईएको हो।’  वडा अध्यक्ष खत्रीले भने ‘प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ किलो नुन र ५०० मिलि लिटर खाने तेल वितरण गरिएको छ।’

लकडाउनमा मजदुरी गर्न नपाएका विपन्न नागरिकलाई नगरपालिकाको राहतले निकै सहयोग पुर्याउने विश्वास गरिएको छ। कोरोना भाईरस विरुद्ध प्रोटेक्टिभ एम्बुलेन्स, २५ वेडको क्वारेन्टाई र जिल्ला अस्पतालमा आईसुलेसन वेड स्थापना गर्न सहयोग गरेको त्रियुगा नगरपालिकाले त्रियुगा नगर राहत कोष नै खडा गरेर नगरबासीलाई राहत उपलब्ध गराउन थालेको नगरप्रमुख बलदेव चौधरीले बताए।

‘त्रियुगा नगरपालिकाले नगरको बजेट बाहेक सहयोग गर्न चाहने दाताहरुलाई समेत ध्यानमा राखेर त्रियुगा राहत कोषमा रकम जम्मा गर्न भनेको छ।’ नगर प्रमुख चौधरीले भने ‘जिन्सी समान दिने चाहने सहयोगी हातहरुलाई उपप्रमुख देवी कुमारी चौधरीलाई सम्पर्क गरि दाल, चामल, नुन, तेल उपलब्ध गराउन आव्हान गरिएको छ।’

नगरपालिकालाई दाताहरुबाट प्राप्त भएका सामानहरु क्रमश वितरण गर्ने र अपुग भएमा नगरपालिकाले खरिद गरेर वितरण गर्ने योजना रहेको र नगरका विपन्नहरुको सबै लगत संकलन भई सकेकोले बाँकी वडामा क्रमस राहत वितरण गर्दै लगिने कार्यक्रम रहेको त्रियुगा नगरपालिकाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.