१४ वर्ष जेल बस्‍नु भएको भ्रष्टाचार गर्नलाई हो?

|

काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र) को एकताका बेला दुई अध्यक्ष प्रणालीको प्रसंगमा प्रधानमन्त्री के शर्मा ओलीले भनेका थिए, ‘ठूलो विमान चलाउन दुईजना पाइलटको आवश्यकता पर्दछ।’ 

उनकै भाषामा भन्‍ने हो भने दुई पाइलटले संचालन गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ मा सम्पन्‍न निर्वाचनमा लोकप्रिय बहुमत प्राप्त गर्‍यो। त्यससँगै पार्टीले सरकारको पाइलट बन्‍ने जिम्मेवारी प्राप्त भयो। उक्त सरकारको क्याप्टेन केपी शर्मा ओली बने। तर उनले चलाएको विमानबारे उनका सहयोगीको विवादास्पद गतिविधिका कारण पटक पटक आलोचना हुन थालेको छ। 

सरकार एकपछि अर्को विवादमा फसिरहँदा आलोचना गर्ने सत्तारुढ दलकै नेता-कार्यकर्ताहरुको संख्या पनि बढ्दो छ। सरकार नेकपाभित्र मौलाउँदै गएको विकृतिप्रति कठोर आलोचना गर्ने नेतामा पर्छन्, केन्द्रीय सदस्य तथा भोजपुरबाट निर्वाचित प्रतिनिधि सभाका सांसद सुदन किराती। 

उनले पछिल्लो समय सांकेतिक रुपमा सरकारको विसंगितप्रति कडा आलोचना गर्दै आएका छन्। पछिल्लो समय भइरहेको भ्रष्टाचारबारे पनि उनले मुख खोलेका छन्। सरकारको आलोचना र भ्रष्टाचारमा मुछिएका मन्त्री तथा सरकार संचालनमा जिम्मेवारहरुप्रति संकेत गर्दै सांसद किरातीले थाहाखबरसँग भनेका छन्, 'प्रधानमन्त्रीले उडाएको जहाजको चालकदलका सदस्यहरुमा नै कोरोना भाइरसको गम्भीर संक्रमण देखिएको छ।’ 

स्वास्थ्य उपकरण खरिद प्रक्रियामा घोटाला भएको र त्यसमा संलग्‍नहरुलाई मन्त्री वा विभिन्‍न जिम्मेवारी वहन गरिरहेकाहरुलाई आफ्नो पदबाट राजीनामा गराउनुपर्ने घुमाउरो माग गरेका छन्। 

व्यंग्यात्मक शैलीमा जहाजलाई तत्काल लकडाउन गरि संक्रमितहरुलाई आइसोलेशनमा पठाउनुपर्ने भन्दै भ्रष्टाचारमा संलग्‍नहरुलाई बर्खास्त गर्न उनले माग गरेका हुन्। प्रधानमन्त्रीप्रति लक्षित गर्दै उनले थाहाखबरसँग भने, ‘अन्यथा अब प्रश्‍नको राँको प्रधानमन्त्रीतिर सोझिने र त्यसको मूल्य निक्कै महँगो पर्नेछ।’

यसअघिको स्वास्थ्य सामाग्री खरिद प्रकरणलाई लिएर ‘जी टु जी’को माघ्यमबाट स्वास्थ्य सामग्री ल्याउनुपर्ने बताउँदै उनले प्रश्‍न गरे, ‘दुनियाँमा नागरिकको स्वास्थ्य सुरक्षा नीजि संस्थाले कहाँ गर्न सकेको छ ? नेपालको संविधानको मौलिक हकको महलमा स्वास्थ्य अधिकार स्पष्ट लेखिएको छ’, उनले थपे, ‘त्यसैले उक्त कार्य सरकारकै दायित्वभित्र पर्न आउँछ।’ 

किरातीले बुधबार बेलुकी (अप्रिल १) अष्ट्रेलियातर्फ उड्नुअघि नेपाल वायु सेवा निगमले देखाएको हर्कतप्रति पनि उनले आपति जनाएका छन्। नेपाल एयरलाइन्स (एनए)को वाइडबडिले कुटनैतिक पहलमा बुधबार अष्ट्रेलियाको उडान भरेको थियो। उडान भर्ने क्रममा निगमका कर्मचारीहरुको मिलेमतोमा लाखौंको कमिशन खेल भएकोप्रति उनले आपत्ति जनाएका छन्। 

राज्यको कार्यकारी पदमा बसेर विसंगति फैलाउनेहरुप्रति आक्रोश पोख्दै किरातीले भने, ‘नागरिकले यो घडीमा सरकारद्वारा चमत्कार खोजेको थिएन। बरु दुर्गामी निर्णय, उक्त निर्णयको इमान्दार कार्यान्वयन र पारदर्शी व्यवहार मात्रै खोजेको थिए।’ यसैसन्दर्भमा उनले प्रश्‍न गरे, ‘के हामीले देश लुट्न र जनतालाई रुवाउन भनेर क्रान्ति गरेका थियौं ? प्रधानमन्त्री स्वयंले १४ बर्ष जेल बसेको त्यसैका लागि हो ?’ 

देश निर्माणका लागि सच्चा मानिसहरुको खडेरी परेको भन्दै किरातीले भने, ‘पदमा पुग्नेहरु भ्रष्टाचार गर्नमा व्यस्त छन्। नपुग्नेहरु कहिले पुग्ने भनेर चाकडी गरिरहेका छन्। अनि हाम्रो आङमा हाति हिँडेको कसले देखाउने ? यसरी देश कहिले बन्छ ? जनतामा गम्भीर चिन्ता बढेको छ।’
 
अहिलेको विकराल परिस्थितिमा सरकारले गति लिन नसकेकोप्रति पनि उनले व्यंग्य गरेका छन्। ‘महामारी गम्भीर रुपले फैलियो भने हामीले १ अर्बको होइन, महिनामा खर्बौको स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने हुन्छ। तर त्यसबेला यो न हाँसको न कौवाको गतिले कसरी महामारी नियन्त्रण हुन सक्छ ? यहितिरकाले त्योबेला कति भ्रष्टारा हुन्छ होला ?’, किरातीले प्रश्न गरे। 

‘हाम्रो मूलुकमा ७५ प्रतिशत मन्त्री माफियाहरुले बनाउँछन्। २५ प्रतिशत मात्रै क्षमताको आधारमा बाध्यताले बनाइन्छ। र उनीहरुलाई सडाउने षड्यन्त्र अन्तर्गत मन्त्री बनाइन्छ। त्यसकारण क्षमतावान मन्त्रीहरुलाई पनि माफिया र तिनको मतियारले घेराबन्दीमा पारेर काम गर्न पटक्कै दिदैनन्’, किरातीले जिकिर गरे। 

त्यसैगरि सांसद किरातीले संकटको समयमा गेट बन्द गर्ने नीजि अस्पतालहरुप्रति पनि खेद प्रकट गरेका छन्। ‘निजी अस्पतालले सामान्य बिरामीको जाँच गर्न छोड्यो र अकालमा मान्छेको मृत्यु हुँदै छ। दुईतिहाइको सरकारलाई निजी अस्पतालले नटेर्नुको पछाडि दुई कारण छन्', उनले भने, 'पहिलो, एकातिर समाजवादको भाषण गर्ने अर्कोतिर निजी अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा माफियागिरी गर्नेहरु पार्टीको केन्द्रीय सदस्य छन्। दोस्रो, व्यापारमा संलग्‍न नभएकाहरु बोल्दैनन्, किनभने उनीहरु कमिशनको खेलमा लागेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.