|

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ।

नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई सातापछि आधिकारिकरुपमा बिहीबारबाट भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण शुरु गरेको हो। यसअघि नमूना संकलन गरी टेकु अस्पताल पठाउँदै आएकामा अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न शुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको हो।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने उल्लेख गर्दै नगरपालिकाले सञ्चालनमा ल्याएको ल्याबबाटै परीक्षण गर्न सकिने बताए। नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।

नगरपालिकाले सञ्चालित उक्त अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेसिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो। नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पिसीआर) मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ। सो ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। सो ल्याबमा विभिन्न रोग सार्स, डेङगु, स्वाइनफ्लुलगायत क्यान्सर एवं शरीरका विभिन्न अंगका ट्युमरकोसमेत परीक्षण गर्न सकिने भएको छ।

ल्याब टेष्टका लागि विदेश पठाउँदा महँगो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यही परीक्षण गर्दा सरल एवं छिटो हुने दाबी गरिएको छ। यही ल्याबमा कोरोना परीक्षण गरी एक जना बिरामीलाई आइसोलेसनमा राखेको जानकारी दिँदै उनले अस्पतालले कोरोनाको उपचारका लागि चार भेन्टिलेटरसहितको सघन उपचार कक्ष र १६ आइसोलेसन वार्ड निर्माण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। 

उनले भने, 'अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४ सै घण्टा अलर्टमा राखेका छौँ। कोरोना परीक्षण अब यही अस्पतालबाट शुरु गरिसक्यौँ। छ शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकेका छौँ। आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी १० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेका छौँ। उपचारका लागि हामी पूर्णरुपमा तयार छौँ।' 

आइसोलेसनमा भर्ना भएका एकको रिपोर्ट नेगेटिभ आए घर पठाइने भएको छ। यहाँको ल्याबमा पोजेटिभ रिपोर्ट आए, सो रिपोर्टलाई टेकु अस्पताल पठाइनेछ। नगरका विभिन्न क्षेत्रमा किटनाषक औषधि छर्किएको नगरपालिकाले विदेशबाट फर्किएका ३२ जनाको नमूना संकलन गरी परीक्षण शुरु गरेको छ।

नगरपालिकाले बोडेस्थित तालिम केन्द्रको भवनमा ५० जना क्षमताको क्वारेन्टाइन निर्माणको कार्य अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.