सेनाले जिटुजी मोडलमा सामान ल्याउने

|

काठमाडौं : बजार भाउभन्दा २० प्रतिशत महँगोमा गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएपछि विवादमा फसेको सरकारले अन्तत: सेनाको सहयोग लिने भएको छ। ‌ओम्‍नी समूहले तोकिएको समयमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामान ल्याउन नसकेपछि ऊसँगको ठेक्का रद्द गरेको सरकारले अब सेनालाई त्यो जिम्मेवारी दिने निर्णय लिएको हो । 

व्यापारीहरुलाई फाइदा दिने गरी महँगो मूल्यमा चीनबाट ल्याएका पिपिईसहितका सामान कामै नलाग्‍ने पाइएपछि सरकारले बुधबार ओम्नी समूहसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। 

त्यसलगत्तै सरकारले नेपाली सेनाको क्राइसिस म्यानेजमेन्ट सेन्टर-अपरेशन' (सीसीएमसी-ओप्स) कोरोनाविरुद्धका अत्यावश्यकीय औषधि, उपकरण र बन्दोबस्तीका सामग्री ल्याउने जिम्मा दिएको हो। 

देशमा कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा यही चैत १६ मा बसेको मन्त्रिपरिष बैठकले उक्त भाइरसविरुद्धको प्रतिकार्यका लागि उच्चस्तरीय निर्देशक समिति मातहत रहने गरी 'कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर-अपरेशन' (सीसीएमसीऔओप्स) स्थापनाको निर्णय लिएको थियो।

कोभिड-१९ रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी सेनालाई दिइएको जानकारी अर्थ तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि बिहीबार सिंहदरबारमा बोल्दै खतिवडाल यस्तो जानकारी दिएका हुन्। 

उपप्रधान तथा रक्षा मन्त्री संयोजक रहेको उच्चस्तरीय समिति संचालक रहने गरी सीसीएमसीले स्वास्थ्य सामग्री आपूर्तिको काम गर्ने खतिवडाले जानकारी दिए। उनले स्वास्थ्य सामग्री आपूर्तिसँगै सीसीएमसीले शान्ति सुरक्षाका विषयमा काम गर्ने निर्णय भएको पनि जानकारी दिए। 

सकारको निर्णयानुसार कोरोना भाइरस प्रतिकार्यलाई प्रभावकारी र छिटो अगाडि बढाउन छाउनीस्थित रेञ्‍जर गणको परिसरमा प्रधानमन्त्रीको कार्यालयका सचिवको नेतृत्वमा सेनाको प्रबन्धरथी र स्वास्थ्य मन्त्रालयका १२औं तहका प्रतिनिधि सदस्य रहने गरी सीसीएमसीको स्थापनाको निर्णय लिइसकेको छ।

सरकारको निर्णयानुसार सीसीएमसीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार गर्नुपर्ने बिरामी पहिचान गरी क्‍वारेन्टाइ र आइसोलेसनमा राखी उपचार पनि गर्नेछ। 

'सीसीएमसी-ओप्सले स्वास्थ्य सेवा तथा उपचार (मेडिकल-ओप्स), औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा (लजिस्टिक ओप्स), शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य (सेक्युरिटी ओप्स) र सूचना तथा प्रविधि कार्य (मिडिया एण्ड आइटी ओप्स) सहित चार अपरेशन सेन्टर बनाएर काम गर्छ', मन्त्री खतिवडाले भने। 

सेनाले स्वास्थ्य सामग्री ल्याउने जिम्मा पाएपछि अब सरकारले चीन सरकारसँग सीधै वार्ता गर्ने भएको छ। यी सामान खरिदका लागि नेपाली सेनाको नेतृत्वले चिनियाँ सरकारसँग सीधै कुराकानी गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.