भद्रपुर (झापा) : उद्योगी महेश मित्तलले मेची अञ्चल अस्पतालाई १० थान लेबल थ्री पिपिई प्रदान गरेका छन्। कोरोना भाइरसको शंकामा उपचारत बिरामीहरुको उपचार खटिने चिकित्सकले लगाउने पिपिई उद्योगी मित्तलले प्रदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए।
मेची अञ्चल अस्पताल भद्रपुरमा गुणस्तरीय पिपिई नहुँदा चिकित्सकलाई उपचार गर्न समस्या भइरहेको छ। कोरोना भाइरस सङ्क्रमणको शंकामा अस्पतालको आइसोलेसन वार्डमा हालसम्म पाँचजना बिरामी उपचारका लागि आइसकेका छन्।
उद्योगी मित्तलले आफ्ना स्वर्गीय हजुर बुबा सत्यनारायण र स्वर्गीय बुबा मोहनलाल अग्रवालको स्मृतिमा अस्पताललाई पिपिई दिएको बताए। ‘यस्तो संकटको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो दायित्व हो,’ उनले भने, ‘उनीहरूलाई बचाउन सकिए मात्र हामी बाँच्न सक्छौ, त्यसैले उनीहरूको सुरक्षाकै लागि पिपिई दिएका हौं।’
अहिलेसम्म अस्पतालमा सामान्य खालको पिपिई मात्र रहेको बताउँदै डा. ठाकुरले बल्ल लेबल थ्री पिपिई अस्पतालले पाएको बताए। उनले भने, ‘लेबल थ्री पिपिई आइसोलेसन वार्डमा खटिने स्वास्थ्यकर्मीलाई चाहिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।